काठमाडौं– अमेरिकी उप–विदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपालको २ दिने भ्रमणका लागि काठमाडौं आइपुगेकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेपछि अमेरिकी उप–विदेशमन्त्री नुल्यान्डको पहिलो ‘उच्चस्तरीय विदेशी नेताको भ्रमण’ हो।
उपमन्त्री नुल्याण्डले प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री बिमला राई पौड्याल, सत्तासाझेदार दलका प्रमुख नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले बताएको छ। नुल्याण्डले पत्रकारहरुसँग छलफल गर्ने पनि कार्यतालिका रहेको छ।
यस्तै, नेपालस्थित अमेरिकी राजदूतावासले नुल्यान्डको भ्रमणले नेपाल अमेरिका बीचको सम्बन्ध थप बलियो हुने उल्लेख गरेको छ। मन्त्री नुल्यान्ड काठमाडौं उत्रेपछि समाजिक सञ्जाल फेसबूकमा राजदूतावासले उक्त कुरामा जोड दिएको हो।
‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी हाम्रा दुई देशबीचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नु हुनेछ। यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ,’ अमेरिकी दूतावासले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।