काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले निवर्तमान गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानको नागरिकता विवादसम्वन्धी मुद्दामा सर्वोच्च अदालतले देखाएको ‘तत्परता’प्रति टिप्पणी गरेका छन्। लामिछानेको मुद्दामा कसरी ३ महिनाभित्रै फैसला भयो भन्दै ढकालले प्रश्न गरेका हुन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार फैसला सुनाउँदै लामिछानेले अमेरिकि राहदानी तथा नागरिकता त्यागेपछि नेपाली नागरिकता पुन: प्राप्तीको प्रक्रिया पूरा गरेको नदेखिएको ठहर गरेको थियो। सर्वोच्चको उक्त फैसलापछि, लामिछानेको उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सदस्य र पार्टी सभापति पद गुमेको थियो।
सर्वोच्चको फैसलापछि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आफूले अमेरिकी राहदानी तथा नागरिकता त्यागेको निस्सा पेस गर्दै नेपाली नागरिकताको प्रमाणपत्र पुन: प्राप्त गरेका छन्। लामिछानेले पुन: नागरिकता लिएपछि बसेको पार्टीको वैठकपछि ढकालले अदालतको ‘भूमिका’प्रति प्रश्न उठाएका हुन्।
आइतबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पुन: पार्टी सभापति चयन गर्ने निर्णय गरेको छ।
आइतबार पार्टीको बैठकपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री ढकालले सर्वोच्च अदालतमा अन्य धेरै मुद्दा रहेको र ती पनि यसैगरि छिटो फैसला हुनुपर्ने टिप्पणी गरे।
‘रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा कसरी ३ महिनामा फैसला भयो? हामीले विचार गरेका छौं,’ उनले भने, ‘अदालतले छिटो फैसला गर्नुपर्छ भन्नेमा हामी पनि हो, तर कसरी भयो? भ्रष्टाचारका मुद्दा कति वर्षदेखि विचाराधीन छन्। ती पनि ३ महिनामा फैसला हुनुपर्छ। ’
रास्वपाले अदालतको फैसला स्वीकार गर्ने र त्यही स्वीकार गरेर लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगेको ढकालले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।