काठमाडौं– सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनी अपराह्न बालुवाटार पुगेका हुन्।
उनीहरुबीच रवि लामिछानेको विषयमा छलफल हुने बताइएको छ। लामिछानेले नेपाली नागरिकता पुनःप्राप्ति गरेपछि ओली उनलाई पुनः उपप्रधानमन्त्री तथा गृहमन्त्री बनाउनुपर्ने पक्षमा छन्।
एमाले नेताहरुले लामिछानेमाथिको मुद्दालाई षडयन्त्रको रुपमा व्याख्या गरिरहेका छन्। उनलाई पुनः पुरानै पदमा बहाल गरेर गठबन्धन र सरकारलाई पुरानै स्थितिमा फर्काउनुपर्ने उनीहरुको धारणा छ।
प्रधानमन्त्री प्रचण्डले भने पुनः बहालीको विपक्षमा मत राखेको माओवादी केन्द्रका एक नेताको दाबी छ। प्रचण्डलाई सत्ता साझेदार राप्रपाको पनि साथ छ।
लामिछानेले नागरिकता लिएको स्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि केन्द्रीय समिति बैठक बसेको छ। आइतबार पार्टी कार्यालयमा बसिरहेको बैठकले अन्य निर्णयका अतिरिक्त गृहमन्त्रालयमा दाबी यथावत् राख्ने निर्णय लिने एक नेताको भनाइ छ। नत्र सरकारबाट बाहिरिने आफूहरुको मत रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।