काठमाडौं– चर्चित फिल्म ‘पशुपतिप्रसाद’को सिक्वेल पशुपतिप्रसाद–२ ‘भष्मे डन’ बन्ने भएको छ। फिल्म प्रदर्शनको सातौं वर्ष पुगेको अवसरमा निर्माण टिमले एक कार्यक्रम मार्फत् सिक्वेलको घोषणा गरेको हो।
फिल्मको चर्चित पात्र ‘भष्मे डन’बाट कथा अगाडि बढ्नेछ। लिड रोलमा विपीन कार्की हुनेछन्। सिक्वेलमा सौगातम मल्ल र स्वस्तिमा खड्का पनि थपिएका छन्।
‘पशुपतिप्रसाद’का मुख्य अभिनेता खगेन्द्र लामिछाने भने अब बन्ने सिक्वेलमा छैनन्। उनी फिल्मको लेखक तथा निर्माता रहनेछन्।
फिल्मलाई दीपेन्द्र के खनालले नै निर्देशन गर्नेछन्। फिल्ममा प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा लगायतका कलाकार दोहोरिने छन्। वर्षा शिवाकोटी भने यसमा दोहोरिने छैनन्। त्यसैगरी सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतका कलाकारको अभिनय रहनेछ। फिल्मका निर्माता लामिछानेले यो फिल्म पनि पहिलो जस्तै अर्थपूर्ण र मन छुने बनाउने बताए।
‘पशुपतिप्रसाद’मा भष्मे डनको चस्मा निकै चर्चित छ। त्यो चस्मा विपीनले अझै सुरक्षित राखेका छन्। फिल्मका निर्देशक दीपेन्द्र के खनालले भने, ‘विपीनले कुनै फिल्म खेलेपछि कुनै सामान जनत गरेर राखेको छैन दाइ भन्थे। तर उनले भष्मे डनको चस्माचाहिँ सुरक्षित राखेका छन् रे,’ निर्देशक खनालले भने।
फिल्मलाई टुकी आर्टस् प्रालिले निर्माण गर्नेछ। टुकीले यसअघि धनपति, पानीफोटो लगायतका फिल्म निर्माण गरिसकेको छ।
फिल्मलाई कृष्ण थापाले खिच्नेछन् भने दीर्घ खड्काले सम्पादन गर्नेछन्।
फिल्म आगामी दसैंमा रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।