काठमाडौं– ‘पशुपतिप्रसाद’ फिल्म रिलिज भएको आज सात वर्ष पूरा भएको छ।
त्यतिबेला बक्स अफिस सफल भएको फिल्मले राम्रो समीक्षा पाएको थियो। अब यसको सिक्वेल पनि बन्ने भएको छ। निर्माण टिमले दिउँसो नयाँ फिल्मको घोषणा गर्ने अभिनेता खगेन्द्र लामिछानेले बताएका छन्। ‘सात वर्ष पुगेको उपलक्ष्यमका हामी सेलेब्रेसन गर्नेछौं र साथै यसको सिक्वेलको घोषणा गर्ने तयारीमा छौं,‘ लामिछानेले नेपाललाइभलाई भने।
सात वर्षअघि फर्कँदा
फिल्मका निर्देशक दीपेन्द्र के खनाल फिल्मका पात्रहरू अहिलेसम्म दर्शकका मनमा बाँचिरहनुमा खुसी व्यक्त गर्छन्। पशुपतिप्रसाद, भष्मे डन र हनुमान जी चर्चित पात्र हुन् फिल्मका। ‘मलाई बुढा बा–आमाहरूले उही ज्ञानी पशुपति सम्झेर अहिले पनि माया गर्नुहुन्छ,’ खगेन्द्र भन्छन्। उनलाई लाग्छ, ‘हामी मर्छौं होला, तर आममान्छेको स्मृतिमा यो पात्र कहिल्यै मर्ने छैन।’
विपीनले अहिलेसम्म जति फिल्म गरे पनि ‘भष्मे डन’मा जति माया कहिल्यै पाएनन्। उनको फिल्मी करिअरको उचाइ पनि ‘पशुपतिप्रसाद’ले नै दिलायो।
दर्शकले ‘पशुपतिप्रसाद’मा सम्झिरहने अर्को पात्र हो– हनुमान। ‘हनुमान’को चरित्रमा थिए रवीन्द्र सिंह बानियाँ। भष्मे डनसँग हनुमान सधैं डराउँछ फिल्ममा। तर किन डराउँछ भनेर कहिल्यै खुलेन।
रवीन्द्रका अनुसार फिल्ममा हनुमानसँग भष्मे डन डराउने कारण दुई सिनले खुलाउँथे। तर ती सिन निर्देशकले हटाइदिए। ‘भष्मेले हनुमान आपराधिक क्रियाकलापमा सहभागी भएको कुरा देखेको थियो। अर्को सिनचाहिँ भष्मेले पकेट मारेको बेला हनुमानले गधाले हानेर लडाएको थियो। त्यो सिन नराखेपछि यसको रहस्य रहिरह्यो,’ उनी भन्छन्।
रवीन्द्रको त हनुमान बन्दा पशुपतिमा आउने दर्शनार्थीहरूले खुट्टा नै ढोग्न आएको संस्मरण छ।
रवीन्द्रलाई सुटिङको बेला हनुमानको पहिरन खोल्न र लगाउन अप्ठेरो हुन्थ्यो। उनले त्यो पहिरन र मुकुण्डो एकैपटक साँझ मात्र खोल्थे। कतिपयले त उनलाई पैसा दिन थाले। त्यसरी जम्मा भएको १७ सय अझै छ रवीन्द्रसँग।‘ कतिपयले त गाली गर्थे– यत्रो लाठे भएर पनि मागेर खान्छस् भनेर,’ उनी हाँस्दै सुनाउँछन्।
फिल्मकी पात्र ‘बुनू’ वर्षा शिवाकोटी हुन्। फिल्ममा बोल्न नसक्ने पात्र निभाएकी उनले दर्शकहरूको निकै माया पाइन्। ‘त्यो थोरै सिनले जति माया दियो, त्यति माया त्यसपछि खेलेका फिल्मबाट पाउन सकेको छैन,’ उनी भन्छिन्।
अब बन्ने ‘पशुपतिप्रसाद’को सिक्वेल कस्तो होला? पात्रहरू कस्ता होलान्? त्यो भने हेर्न बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।