काठमाडौं– संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन्।
शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गौतमले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरुलाई आग्रह गरेका हुन्।
उनले हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पारे। महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाने हो भने सबै ठूलो संकटमा पर्ने बताए। संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको उनको भनाइ छ।
‘संघीयता भएपछि सात प्रदेश छन्, सात हुँदा पनि चलाउन सकेनौ भनेका छौँ, यसमा म अप्रेशनल कुरा देख्छु। अब संघीयतालाई फेरि अर्को प्रश्न गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले? सकौँला? हामी सधैँ १०-१५ वर्षमा संविधान फेर्र्दै जाने?, उनले प्रश्न गरे, ‘हामी यही नै हो त, हामी यहाँबाट परिष्कृत हुने हो। हामीले जाने बाटोमा अब फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौँ न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरु के हुन्छन्? हामी निकै नै ठूलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ। संघीयतालाई झनै ठूलो विषय बनाए हामी झनै फस्छौँ।’
फरक प्रसंगमा महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्ने अदालतले फैसला गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।