काठमाडौं– सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकाले आयोजना गर्ने भएको छ।
दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मोबेल)ले उत्तर अमेरिकी देश अमेरिकालाई आयोजना गर्ने जिम्मेवारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
खासमा कोपा अमेरिका दक्षिण अमेरिकी १० देशको प्रतियोगिता हो। तर आगन्तुकको रुपमा अन्य क्षेत्रमा दुई टोलीले सहभागिता जनाउने गर्थे। २०२४ देखि भने उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रका ६ टोलीसमेत समेटेर १६ टोलीको प्रतियोगिता गर्न लागिएको हो।
यस्तो अभ्यास २०१६ मा पनि गरिएको थियो। कोपा अमेरिका १०० वर्ष पुगेको उपलक्ष्यमा अमेरिकामा १६ टोलीको प्रतियोगिता गरिएको थियो। अब त्यसैलाई निरन्तरता दिइने भएको छ।
यद्यपि, कोपा अमेरिका खेल्न उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रका टोलीले भने छनोट चरण पार गर्नुपर्ने छ। त्यहाँबाट छनोट भएका ६ र दक्षिण अमेरिकाका १० सहित १६ टोलीले प्रतियोगिता खेल्नेछन्।
अघिल्लोपटक २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।