काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई राजनीतिक अस्थिरताको दुश्चक्रममा फसाउने कोशिस भइरहेको टिप्पणी गरेका छन्।
सर्वोच्च अदालतको आदेशबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पद खारेज भएलगत्तै उनले यस्तो दाबी गरेका हुन्।
एमालेद्वारा शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’मा बोल्दै उनले मुलुकमा देखा परेको राजनीतिक अस्थिरताको खेललाई सही बाटोमा अघि बढाउन आफ्नो पार्टी दृढ संकल्पित रहेको समेत दाबी गरे।
महासचिव पोखरेलले नेपाली राजनीतिमा देखा परेका पछिल्लो राजनीतिक परिस्थितिप्रति आफ्नो पार्टी गम्भिर रहेको भन्दै त्यसलाई सफलतापूर्वक सामना गरेर अघि बढ्ने बताए।
‘राजनीतिक अस्थिरताको दुश्चक्र कायम गर्ने जुन कोशिस गरिएको छ। त्यसलाई नेकपा एमाले सफलतापूर्वक सामना गर्दै अघि बढ्न तयार छ भन्ने कुरा पनि म तपाईंहरुका बीचमा राख्न चाहन्छु,’ उनले भने, ‘अहिले नेपाली राजनीतिमा जुन प्रकारका अस्थिरताका खेलहरु भइरहेका छन्। नेकपा एमाले त्यसप्रति अन्त्यन्त गम्भिर छ। र, सचेततापूर्वक त्यसलाई सही बाटोमा अघि बढाउनका लागि दृढ संकल्पित रहेको कुरा यहाँ उल्लेख गर्दछु।’
महासचिव पोखरेलले एमालेले सहिदहरुको सम्मानमा कमी आउन नदिने गरी मुलुकलाई अघि बढाउने प्रयास गरिरहेको पनि उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।