काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा राखिएको दान पेटिकामा संकलित रकम शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन्।
उनले आफू मन्त्री भएलगत्तै बधाई दिन आउनेलाई खादा, माला नल्याउन बरु त्यसबापतको रकम दान पेटिकामा जम्मा गर्न भनेर मन्त्रालयमा दान पेटिका राखेका थिए।
उक्त दानपेटिकामा जम्मा भएको रकममा आफ्नो एक महिनाको तलब थपेर दुर्गमको विद्यालयलाई सहयोग गर्ने मन्त्री किरातीले घोषणा गरेका छन्। उनका अनुसार दान पेटिका बन्द गरिसकिएको छ।
बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, आफ्नो एक महिना र सचिवालयको १५ दिनको सुविधासमेत जोडेर ६ लाख ४३४ रकम जम्मा भएको मन्त्री किरातीले बताएका छन्।
संकलन भएको रकम दुर्गमको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने उनले बताएका छन्। उनका अनुसार विद्यालय छनोट गरी चाँडै हस्तान्तरण हुनेछ।
‘आम जनताको लागि केही राम्रो कार्य गर्ने क्रममा बधाई दिन आउने मानुभावहरूबाट खादा र माला लिनको सट्टा दान पेटिका राख्यौं। बिदाबाहेक सात दिनमा दान पेटिकामा संकलित रकम, मेरो एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत यसैमा जोडेर जम्मा रू ६ लाख ४ सय ३४ भएको जानकारी गराइन्छ’, मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको छ। उक्त सुन्दर अभियानमा सहभागी सबैमा धन्यवाद व्यक्त गर्दछौँ। माथि उल्लेखित रकम हाम्रो शैक्षिक विकासको अभियानको एक पाइलाको रूपमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने छ। विद्यालयको नाम र हस्तान्तरण कार्य चाँडै सार्वजानिक गरिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।