काठमाडौं– डिलरहरुले पुसको दोस्रो सातामा बुकिङ लिन सुरु गरेको सुजुकी ग्राण्ड भिटाराको सिजी मोटोकर्पले आधिकारिक बुकिङ खुल्ला गरेको छ। कम्पनीले अबको १५ दिनभित्र बिक्री सुरु गर्ने तयारी गर्दै बुकिङ खुल्ला गरेको हो।
सिजी मोटोकर्पले ग्राण्ड भिटाराको हाइब्रिड इन्जिनमा विटा र अल्फा भेरियन्ट ल्याउने भएको छ। यी दुवै भेरियन्टमा अटोमेटिक गियरबक्स र ई–ड्राइभ टेक्नोलोजी जडान भएको छ। कम्पनीले यसको मूल्य आधिकारिक रुपमा घोषणा नगरे पनि डिलरहरुका अनुसार विटा भेरियन्टको मूल्य ८५ लाख ९९ हजार र अल्फा भेरियन्टको मूल्य ८९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
ग्रान्ड भिटाराको माइल्ड हाइब्रिड इन्जिनमा भने अल्फा भेरियन्टमात्रै उपलब्ध हुनेछ। कम्पनीले अल्फा भेरियन्ट म्यानुयल गियरबक्स टू ह्विल ड्राइभ अप्सनको मूल्य ७४ लाख ९९ हजार तोकेको छ।
त्यसैगरी यसको फोर ह्विल ड्राइभ भेरियन्टको मूल्य ८० लाख ९९ हजार रुपैयाँ रहेको छ। यसअघि दुई इन्जिनको टप भेरियन्टमात्रै नेपाल आउने भनिएको थियो। अहिले ग्राण्ड भिटारा बुकिङ गर्न चाहने ग्राहकले २० हजारदेखि १ लाख रुपैयाँसम्म तिरेर बुकिङ गर्न सक्नेछन्।
ई–ड्राइभ सिस्टम भएको भिटारामा प्रयोग गरेको १४९० सीसीको इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ। उक्त इन्जिनको संयुक्त पावर ११४ बीएच र टर्क १४१ एनएम रहेको छ। यसको माइलेज अविश्वसनिय छ। कम्पनीले प्रतिलिटर २७।९७ किलोमिटर माइलेज रहने दाबी गरेको छ। यसमा ई–सीभीटी गियरबक्समा उपलब्ध रहेको छ।
ग्राण्ड भिटाराको नेचुरल्ली एस्पीरेटेड १.५ लिटर फोर सिलिण्डर, के१५सी ड्युलजेट पेट्रोल इन्जिन भएको भेरियन्ट उपलब्ध छ। उक्त इन्जिनले १०२ हर्सपावर र १३६ एनएम टर्क जेनेरेट गर्छ। कम्पनीले भिटारामा ५ स्पिड म्यानुअल र ६ स्पीडको टर्क कन्भटर गियरबक्स दिएको छ।
सेफ्टी फिचरको रुपमा टप स्पेक भिटारामा ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्टेबिलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ। साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ।
मारुती सुजुकीले ग्राण्ड भिटारामा आफ्नो कारहरुमध्ये पहिलोपटक पानारोमीक सनरुफ पनि दिएको छ। भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर पाउन सकिन्छ।
टप भेरियन्टमा अगाडि दुवै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ। ग्राण्ड भिटारामा अलह्विल ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टसका साथै लक टेरेन मोडसमेत छ। ड्राइभ कम्फर्टका लागि ईभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।