काठमाडौं- वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले रवि लामिछानेले पुनर्प्राप्तिमार्फत नागरिकता लिए भने निर्वाचनमा उम्मेदवार बन्न पाउने बताएका छन्। सर्वोच्च अदालतको शुक्रबारको फैसलाबाट मन्त्री, सांसद र पार्टी सभापति पद गुमाएका लामिछानेको अबको बाटोका बारेमा नेपाल लाइभसँग कुरा गर्दै ज्ञवालीले जिल्ला प्रशासन कार्यालयबाट पुनः नागरिकता लिन सक्ने बताए।
'अमेरिकाको नागरिकता त्यागे पनि नेपालको पुनर्प्राप्तिमा नगएको भन्ने सर्वोच्चको फैसला हो। उहाँले पुरानै नागरिकता प्रयोग गरेर सांसद पदमा जित्नुभयो। त्यसैले सर्वोच्चले त्यो पद खारेज गर्यो। अब उहाँले उताको नागरिकता त्यागेको निस्सा ल्याएर सम्बन्धित जिल्ला प्रशासन कार्यालय जानुपर्यो। उहाँले पुनर्प्राप्तिमार्फत नागरिकता लिनुभयो भने रिक्त ठाउँमा फेरि हुने निर्वाचनमा उहाँ फेरि उम्मेदवार बन्न पाउनुहुन्छ। जिते भने फेरि मन्त्री हुने वा नहुने अर्कै कुरा हो', उनले भने।
लामिछानेको आमाबाबु नेपालकै नागरिक भएकाले नेपालको संविधान र नेपाल पक्षराष्ट्र भएको महासन्धि अनुसार उनी राज्यविहीन भने हुन नसक्ने ज्ञवालीको तर्क छ। 'राज्यले राज्यविहीन बनाउन पाउँदैन। तर अहिले लामिछानेले पुनर्प्राप्तिको नागरिकता लिनुभएको छैन। पुरानै नागरिकताबाट निर्वाचन लडेको हुनाले त्यसले वैधता पाएन', उनले भने।
लामिछानेको पद गुमे पनि पार्टीमा अरु पदका व्यक्ति कायम रहने र उनीहरुले पार्टी सम्हाल्ने ज्ञवालीको भनाइ छ। 'अध्यक्ष मात्रै नरहने भयो। अरु पदका त छन् नि। पार्टीमा त अरु पनि हुन्छन्', उनले भने, 'पार्टीको अध्यक्ष अरु बन्ने होलान्। विधान अनुसार होला। अहिलेलाई रवि लामिछाने सांसद रहनुभएन, संसदीय दलको नेता पनि रहनुभएन। त्यति मात्रै हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।