काठमाडौं– सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।
उनले शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएको उनका प्रेस संयोजक नवराज पाण्डेले बताए।
सर्वोच्चले शुक्रबारमात्रै लामिछानेकाे सांसद पद खारेज गरेको थियो। लामिछानेविरुद्ध दायर भएको रिट जारी गर्दै सर्वोच्चले उनको सांसद पद खारेज हुने फैसला सुनाएको हो। यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पदसमेत स्वतः खारेज भएको थियो।
लामिछानेले नेपाली नागरिक नै नभई उम्मेदवार भएर संघीय सांसद बनेकोमा उनको सो पद निलम्बन गर्नुपर्ने माग राख्दै रिद दायर भएको थियो।
सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले उक्त रिटको फैसला गर्दै सांसद पद खारेज हुने फैसला शुक्रबार सुनाएको हो।
अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछानेले अमेरिकी नागरिकता लिएपछि कायम नरहेको नेपाली नागरिकतालाई स्वघोषणा गरी कायम रहेको भन्दै सोही नेपाली नागरिकताको आधारमा पार्टी दर्ता गरेको र संघीय चुनाव समेत जितेकाले सांसद पद निलम्बन गर्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।