काठमाडौं– नेकपा माओवादी केन्द्रको शुक्रबारको स्थायी समिति बैठक सकिएको छ। बैठक माघ १६ गते पुन: बस्नेछ।
शुक्रबार बसेको बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन्। जसमध्ये पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकता सम्बन्धी प्रतिवेदन, उपमहासचिव जनार्दन शर्माले संगठन सम्बन्धी प्रतिवेदन र उपमहासचिव गिरिराजमणि पोखरेलले स्कुलिङ सम्बन्धी प्रतिवेदन पेस गरेका छन्।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षको प्रतिवेदन पेस गरेका थिए। बैठकमा पेस भएका चारवटै प्रतिवेदनमा २७ जना स्थायी समिति सदस्यहरुले आफ्नो भनाइ राखेका छन्।
बैठकमा उठेका प्रश्नहरुबारे जवाफ दिनका लागि महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवसहितको टिमले प्रष्ट पार्ने भएका छन्।
बैठकमा पेस भएका प्रतिवेदन अध्ययन लागि समय दिइएको छ। जसकाकारण बैठक माघ १६ गते बस्ने प्रवक्ता महराले जानकारी दिए। महराका अनुसार राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमतिका आधारमा अघि बढ्नु पर्नेमा अधिंकाश स्थायी समिति सदस्यहरुले जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।