काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादको बहसका क्रममा न्यायाधीश र वकिलबीच सवाल–जवाफ भएको छ।
संवैधानिक इजालमा भएको बहसमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले रविकातर्फबाट वकालत गरेका वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमलाई प्रश्न गरे। लामिछाने अमेरिका गएको, अमेरिकी नागरिकता लिएको, त्यसपछि नेपाल आएको र अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी बनाएको विषय स्थापित तथ्य भएको भन्दै न्यायाधीश खतिवडाले सोधे, ‘अमेरिकी नागरिकता नत्याग्दै नेपाली राहदानी कसरी बन्यो?’
जवाफमा वरिष्ठ अधिवक्ता गौतमले राहदानीबने पनि त्यसको कुनै प्रयोग नभएको दाबी गरे। अर्कोतर्फ रिट निवेदनमा पासपोर्टको कुनै कुरासमेत उल्लेख नभएकाले उक्त विषयमा अहिले तर्क–वितर्फको आवश्यक नरहेको तर्फ उनले संकेत गरे। अहिलेको यो रिटमा पासपोर्टको विषय नै नजोडिएको श्रेष्ठले दाबी गरे।
‘उम्मेदवारी मनोनयन दर्ता गर्दैखेरी आवश्यक कागजात पेश गर्नुपर्ने हुन्छ। त्यतिबेला लामिछानेले पेस गरेका कागजातहरु के कागजका खोस्टा थिए त त्यसो भए?’ गौतमले भने।
लामिछानेको तर्फबाट श्रेष्ठसँग अधिवक्ता आशिष अधिकारी, सुदीप पन्त र यज्ञमणि न्यौपानेले बहस गरेका थिए।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, रमण कर्ण, अमिता श्रेष्ठले बहस गरे। लामिछानेले नेपालको कुनै कानून नै नमानेको र हठ, दम्भकै आधारमा नागरिकता नपाइने तर्क भण्डारीले गरे। ‘उहाँले राज्यलाई पटक–पटक ढाँट्दै आउनु भएको छ। ढाँटेरै उहाँ अमेरिका पुग्नुभयो पढ्न भनेर तर पढ्नु भएन। अहिले पनि राज्यको कानून लत्याउँदै स्वघोषणा गरेर आफैं नागरिकता कायम भयो भन्दै हुनुहुन्छ,’ भण्डारीले भने, ‘यो लामिछानेको मात्रै मुद्दा नभएर समग्र प्रणालीको कुरा जोडिएर आउने र भोलिका दिनमा अराजकता आउन नदिन पनि माग अनुसारको रिट जारी हुनुपर्छ।’
भण्डरीले नागरिकता नियमावली २०६३ को नियम ११ मा नगए लामिछानेले पुनः नेपाली नागरिकतासमेत पाउन नसक्ने पनि दाबी गरे।
नागरिकता ऐन २०६३ को दफा १० को उपदफा १ मा टेक्दा पनि विदेशी नागरिकता लिएपछि नेपाली नागरिक नरहने बताइएको छ। उपदफा १ मा उल्लेख गरिएको छ, ‘नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम रहने छैन।’
दफा ११ मा भने पुनः नेपाली नागरिकता कायम हुनेसम्बन्धी व्यवस्था छ। त्यसमा लेखिएको छ, ‘कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखि निजको नेपाली नागरिकता पुनः कायम हुनेछ।’ दफा १० को उपदफा (१) मा कानूनी ग्याप भएकाले यसलाई सुधारेर अघि बढ्न सकिने भण्डारीको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।