काठमाडौं– नेपाल मैदा उद्योग संघले भारतबाट गहुँ आयात नभए बजारमा मैदा-आँटा दिन नसकिने बताएको छ।
भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा-आँटाको चरम अभाव भएको जनाउँदै उसले यस्तो बताएको हो।
मैदा-आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुरी-नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा-आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा-आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित रहेको संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ।
‘भारत सरकारको प्रतिबन्धपश्चात् मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हँदा मैदा÷आँटाको मूल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
पछिल्लो समयमा बजारमा गहुँ नभएका कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग बन्द हुने अवस्थामा पुगेको संघको भनाइ छ।
‘र, बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्था रहेको छ,’ संघका महासचिव राधेश्याम अग्रवालले भने, ‘मैदा उद्योगले बजारमा मैदा-आँटा दिन सक्ने अवस्था नै छैन। यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ।’
भारत सरकारले दिएको ५० हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउन सरकारसँग संघले आग्रह गरेको छ। बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने भन्दै संघले मैदाको सट्टा गहुँ आयात गर्ने प्रक्रिया बढाइदिन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।