काठमाडौं– नेपाल टी–२० लिग आयोजनाको जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्बारे नेपाल क्रिकेट संघ (क्यान)ले सम्झौता गर्दा राम्रो रहेको दाबी गर्दै बचाउ गरेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार पत्रकार सम्मलेन गर्दै सेभेन थ्री स्पोर्टस्बारे भने, ‘सम्झौता गर्दा सबै कुरा बुझिएको थियो। प्रोफाइल पनि राम्रो थियो। पछि बिग्रन्छ भन्ने कसरी थाहा पाउनु?’
सेभेन थ्री स्पोर्टसलाई नेपाल टी–२० लिग आयोजनाको जिम्मा दिनु गल्ती भएको पनि चन्दले स्वीकारे। उक्त गल्ती ‘इन्टेनसन्ल्ली’भन्दा अन्जानमा भएको उनको भनाइ थियो।
‘लिगको सम्झौता भएको २ वर्ष भयो। एमओयू भएको ३ वर्ष भयो। तत्कालीन महासचिव अशोकनाथ प्याकुरेल र अध्यक्ष म भएर भएको बेला सर्वसम्वतबाटै सम्झौता भएको हो। आईपीएल, विश्वकपसम्मको आयोजना गरिसकेकाले राम्रो प्रोफाइल देखेर सम्झौता भएको हो। तर, बीचमा बिग्रिन्छ भनेर कसरी थाहा पाउनु,’ चन्दले भने।
टी–२० लिग सुरुभन्दा पहिला नै फिक्सिङ हुनसक्ने भन्दै सीआईबीलाई निवेदन नै पठाएर अनुगमन गर्नसमेत भनिएको चन्दले पत्रकार सम्मेलनमा दाबी गरे।
‘लिग सुरु हुन दुई दिनअघि सीआईबीमा पत्राचार गरेर अनुमगन गर्न भनेका हौं। ६ जना इन्सपेक्टरसहितको टोली आएर अनुमगन पनि सुरुदेखि नै भएको हो। सम्भावित खतरा रोक्न पत्राचार गरिएको थियो। तर पनि फिक्सिङ भएरै छाड्यो,’ उनले भने।
फिक्सिङमा संलग्न जो कोहीलाई कारबाही हुने पनि चन्दले बताए। नेपाली क्रिकेटलाई गन्धा बनाउने जो कोही कारबाहीको भागिदार बन्छन्।
फिक्सिङमा संलग्न भएको पाइएपछि सेभन थ्री स्पोर्टससँगको सम्झौता के हुने भन्ने अझै पनि अन्योल छ। राष्ट्रिय खेलकुल परिषद् (राखेप)ले त सम्झौता रद्द गर्न भनिसकेको छ। यसबारे चन्दले भने, ‘राखेपले सम्झौता तोड्नु भनको छ। सीआईबीले अनुसन्धान गरिरहेको छ। नियामक निकायको निर्देशनअनुसार हामी अघि बढ्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।