फाइल तस्बिर
काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सांसद रामचन्द्र पौडेलले पछिल्ला दिनहरुमा जोड गरेको विषय हो सबै दल बीचको राष्ट्रिय सहमति। पौडेलले मंगलबार प्रतिनिधि सभाको बैठकमा पनि राष्ट्रिय सहमतिको पुन: चर्चा गर्दै ३ वटा कराणले उक्त सहमति आवश्यक रहेको औँल्याएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई ज्ञापन गर्ने क्रममा उनले राष्ट्रिय सहमतिको विषय दोहोर्याएका हुन्।
‘मैले राष्ट्रिय सहमतिको कुरा गर्दै आएँ। मैले राष्ट्रिय सहमतिको कुरा गर्दा आफ्नो स्वार्थका लागि खोज्यो भन्ने पनि अर्थ लाग्ला। तर त्यो हैन। म पहिलेदेखि राष्ट्रिय सहमतिको पक्षमा हो। देश असहज अवस्थामा छ। देशलाई यो असहज अवस्थाबाट पार लगाउनु हामी सबै नागरिकको कर्तव्य हो। आज ३ वटा कारणले देशलाई राष्ट्रिय सहमति आवश्यक छ,’ मंगलबार प्रतिनिधि सभा बैठकमा पौडेलले भने, ‘पहिलो कमसल आर्थिक अवस्था छ। दोस्रो, भूराजनीतिक दबाब छ। नयाँ किसीमको शीतयुद्ध हाम्रै हिमालमाथि मडारिरहेको छ। तेस्रो, शान्ति प्रक्रिया अझै पूर्ण भइसकेको छैन। यसलाई पुरा गर्नु हाम्रो कर्तव्य हो। सबैभन्दा ठूला कुरा छ सुशासनको कुरा छ। देश कुशासन भोग्नु परेको अवस्था छ। शासनको विकेन्द्रीकरण गर्यौँ, कहाँ–कहाँ भ्रष्टचारको पनि विकेन्द्रीकरण भएको कुरा देखिन्छ। त्यसलाई निरुत्साही पार्न पनि राष्ट्रिय एकता आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।