काठमाडौ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गर्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
उच्च सरकारी वकिलको कार्यालय पाटनले गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गर्दै सर्वोच्च जाने भएको हो।
महान्यायाधिवक्ता कार्यालयले यसका लागि मस्यौदा निर्माण थालेको र सके बुधबार नसके बिहीबारसम्म निवेदन दर्ता हुने सरकारी वकिल कार्यालयले जनाएको छ।
उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेपछि त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा ७३ नम्वरको निवेदन दर्ता गराउन लागेको हो। उच्च अदालत पाटनले लामिछानेलाई शर्तसहित २० लाख धरौटी माग गरेको थियो। जिल्ला अदालत काठमाडांैले नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि लामिछानेलाई थुनामा पठाएको थियो। जिल्लाको आदेशविरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए।
उच्चको आदेशले धरौटीमा रिहा भएपछि लामिछानेको मुद्दा केही दिनअघि अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंमा पेशी चढेको थियो। तर जाहेरवाला पक्षले निवेदन दिएपछि मुुद्दा स्थगित हुँदै सुनुवाइ सरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।