धनगढी– सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। डडेलधुरा, डोटी, बैतडी, दार्चुला, बझाङ, अछाम र बाजुरा जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।
डडेलधुरा जिल्लाको सदरमुकाम आसपासका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। यस्तै, बैतडीको खोड्पे, बझाङको काँडा, बाजुराको बुढीनन्दा तथा गौमुल, दार्चुलाको अपिनाम्पा, डोटीको खप्तड क्षेत्रमा हिमपात भएको स्थानीयले जनाएका छन्।
बैतडीको सिगासका किसान दानसिंह बोहराका अनुसार सोमबार रातिदेखि मौसममा बदली आएसँगै मंगलबार बिहानदेखि हिमपात भएको हो। वर्षा र हिमपातका कारण पहाडी क्षेत्रमा चिसो बढेको छ। चिसोका कारण जनजीवन प्रभावित भएको छ।
चिसोले बालबालिका, दैनिक ज्याला मजदुरी गर्ने, वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसोबाट बच्न न्यानो लुगा लगाउन, झोलिलो कुरा सेवन गर्न, घरबाहिर ननिस्कन आग्रह गरिएको छ।
यसैबीच वर्षा र हिमपातले किसान भने हर्षित भएका छन्। लामो समयसम्म पानी नपरेका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने किसानको भनाइ छ।
लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसान बोहराले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।