काठमाडौं– मापदण्डभन्दा बढी धूँवा फाल्ने २० सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौंको सुकेधारामा सोमबार गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ वटा कारबाहीमा परेका हुन्।
वातावरण विभाग बबरमहल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले सुकेधारामा ४६ वटा सवारी साधनलाई जाँच गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
सवारी साधन मर्मतपश्चात पुन: चेक गराइ तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उनले बताए।
मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले सवारी साधनको अवस्था चेकजाँचलाई तिब्रता दिएको एसएसपी भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।