काठमाडौं– स्याङ्जाको गल्याङ नगरपालिकाले अदुवाको बिउ खरिद गर्दा २ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बिउ खरिदमा २ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको देखिएको हो।
अदुवाको बिउ खरिदमा अनियमितता भएको र गुणस्तरहीन बिउ खरिद भएको भन्दै अख्तियारमा उजुरी परेको थियो। उजुरीमाथि अनुसन्धान गर्दा २ करोड १४ लाख ५० हजार रुपैयाँको भ्रष्टाचार भएको देखिएको अख्तियारका प्रवक्ता श्याम भण्डारीले जानकारी दिएका छन्।
नगरपालिकाका तत्कालीन मेयर भुपराज अधिकारीले अस्वभाविक रुपमा बिउको दररेट थप गरी दररेटभन्दा १३ लाख रुपैयाँ बढी भुक्तानी दिएको देखिएको छ।
यस्तै, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बिउ (गानो) खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेस गरेको र पेस भएको टिप्पणी आदेश स्वीकृत गरी पटक–पटक गरी २ करोड १४ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको अख्तियारले जनाएको छ।
२ करोड १४ लाख ५० हजारमध्ये अख्तियारले १३ लाख रुपैयाँको भुक्तानीमा तत्कालीन मेयर अधिकारीको एकल संलग्नता रहेको देखिएको जनाएको छ।
यस्तै, बाँकी २ करोड १ लाख ५० हजारमध्ये अग्रीम आय करबापत कट्टा गरिएको ३ लाख ७९ हजार ५०१ रुपैयाँ बाहेक १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँको हिनामिनामा मेयर अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालाको संलग्नता देखिएको अख्तियारले जनाएको छ।
अख्तियारले उनीहरुविरुद्ध जनही १ करोड ९७ लाख ७० हजार ४९९ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ। मेयर अधिकारीविरुद्ध भने १ करोड ९७ लाख ७० हजार ४९९ र १३ लाख गरी २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो दाबी गरिएको छ।
अख्तियारले अदुवाको बिउ आपूर्तिकर्ता स्पुक ड्रेडर्स प्रालि, तीनकुने काठमाडौं र उक्त कम्पनीका अख्तियारप्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेलाई पनि प्रतिवादी बनाएको छ। अख्तियारले स्पुक ड्रेडर्स प्रालि र कम्पनीका प्रतिनिधि न्यौपानेबाट २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ बिगो असुल हुनुपर्ने मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।