काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग असफल भएको बताएका छन्।
उपसभामुखको निर्वाचनमा समर्थन गर्न रोष्टममा पुगेका राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले संसद्मा पात्र मात्र फेरिएको तर प्रवृत्ति नफेरिएको दाबी गरे।
भ्रष्टाचारका मुद्दामा ठूला आवाजले सडक तात्ने र पत्रिका अनलाईनमा समाचार छापिने तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेको उनको आरोप छ। उनले अन्य देशका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु भ्रष्टाचारमा जेल गएको र सर्वस्व हरण भएको सुनेको भन्दै अब नेपालमा पनि सुन्न पाउनुपर्ने बताए।
‘ठूला माछालाई नछुने अनि सानालाई’ मात्र कारबाही गर्ने अख्तियारको प्रवृत्ति अन्त्य हुनुपर्ने उनले माग गरे। उनले राप्रपाले उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा राना मगरलाई सर्मथन गर्ने बताए।
उनले वैदेशिक रोजगारमा भयावह स्थिति रहेको उल्लेख गरे। उनले भने, ‘वैदेशिक रोजगारीमा गएकामध्ये १० हजार युवाहरुले मृत्युको बाटो रोज्नपरेको छ। ५० लाख युवा विदेशमा छन्,’ उनले भने, ‘धेरैले गणतन्त्र प्राप्तिका लागि योगदान दिए। तर प्रवृत्ति भने परिवर्तन भएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।