बाले आमालाई,
काकाले काकीलाई,
अनि दाइले भाउजूलाई
पिटिरहेका यी निर्दोष नयनले देख्दा
लाग्छ बुहारीको जीवन जीवन नै हैन
त्यसैले आमा मलाई बिहे गर्न मन छैन।
मै सानी भए पनि,
बोल्ने आँट गर्न नसके पनि,
त्यो तीतो याद त ताजै छ नि आमा
पल्ला घरे काइँलीले तेरी छोरी
अनि मेरो छोरा भनेर तिमीलाई रुवाएको
छोरी पाइस् भन्दै बज्यै र फुपूले
खानामा तिमीलाई विष खुवाएको
यी मेरा आँखाले देखेर नदेखेझैँ गर्नुपर्दा
लाग्छ बुहारीको जीवन जीवन नै हैन
त्यसैले आमा मलाई बिहे गर्न मन छैन।
न तिम्रो आँसु पुछ्न सक्छु,
न तिम्रो पीडा बुझ्न सक्छु,
सक्छु त केवल तिमीसँगै आँसु झार्न सक्छु
युद्धै गरे पनि यो समाजसँग
न त जित्न सक्छु न त हार्न सक्छु
न त आफ्नो मन आफैं मार्न सक्छु
न त यो कुँ–संस्कार स्वीकार्न सक्छु
यो सम्झन्छु अनि
लाग्छ बुहारीको जीवन जीवन नै हैन
त्यसैले आमा मलाई बिहे गर्न मन छैन।
बा! तिमीले दुनियाँका कुरा नसुने है!
आमा! तिमीले फलानीका कुरा नबुझे है!
म तिमीसँगै रहँदा तिमीलाई साँघुरो हुँदैन भने
यता र उताका, नाता र गोताका मान्छेले
बुढी कन्या छोरी घर मै छे? भन्दैमा के फरक पर्छ र?
बा, आमा!
तिमीले दाइजो दिन नसकौला
अनि बिहेको केहीदिनमै म ज्यूँदै जलेँ भने?
यस्तो सम्झिँदा त!
लाग्छ बुहारीको जीवन जीवन नै हैन
त्यसैले आमा मलाई बिहे गर्न मन छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।