बिजुवार– प्रतिनिधिसभा सदस्य सूर्य थापाले खेलक्षेत्रले व्यक्ति र देशलाई विश्वभर चिनाउने बताएका छन्। प्यूठानको सरुमारानी गाउँपालिकास्तरीय दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनपछि उनले राजनितिककर्मीले भन्दा खेलाडीले देश चिनाउने धारणा राखेका हुन्।
चुनाव जितेपछि पहिलोपटक प्यूठान पुगेका थापाले गाउँमा हुने खेलकुद प्रतियोगिताले नयाँ खेलाडी जन्माउन सफल रहने विश्वास व्यक्त गर्दै भने, ‘प्रतियोगिताहरु राम्रा खेलाडी उत्पादन गर्ने नर्सरी हुन्, कारखाना हुन्।’
उनले खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरे। साथै प्रतिनिधिसभा सदस्य थापाले देशको राजनितिले लिएको नयाँ कोर्सलाई सफल बनाउन लाग्नुपर्ने धारणा राखे।
नयाँ सरकारले जनताका आंकाक्षा र आवश्यकतालाई सम्बोधन हुने गरी थप जिम्मेवार बनेर काम गर्ने उनले विश्वास व्यक्त गरे। सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।
प्रतियोगितामा पालिकाभित्रका ११ वटा सामुदायिक विद्यालयका खेलाडीहरुको सहभागिता छ। प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, त्रिपलजम्प, दौड, ज्याभ्लिन थ्रोलगायतका खेल हुनेछन्। प्रतियोगिता शुक्रबारसम्म चल्ने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।