सिड्नी– मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ। एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो।
विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इञ्जिनियरले परीक्षण गर्नेछन्। मध्यआकाशमा जारी गरिएको विपत्तिको सूचनालाई विमान अवतरण हुनुपूर्व ‘सम्भावित सहयोग आवश्यक पर्ने’ सूचीमा समावेश गरिएको थियो। विमानस्थलमा चिकित्सकासहित एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको थियो।
विमान उडेको करिब दुई घण्टापछि एउटा इञ्जिनमा केही समस्या अनुभव गरिएको जानकारी दिए पनि कम्पनीले इञ्जिनमा उत्पन्न समस्याबारे खुलेर जानकारी दिएको छैन। दुई वटा इञ्जिन भएको उक्त विमान एउटाले काम नगरे अर्कोको सहयोगमा अवतरण गर्न सक्षम रहेको जनाएको छ।
संसारको सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा क्वाण्टास रहेको छ। यो एयरलाइन्स विगत ७० वर्षदेखि कुनै घातक दुर्घटनामा परेको छैन। अष्ट्रेलियाको नागरिक उड्डयन कानुनअनुसार विपत्तिको सङ्केत जारी हुनुलाई ‘विमान गम्भीर खतरामा परेको र तत्काल मद्दत आवश्यक भएको’ मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।