काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलबीच भेटघाट भएको छ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको छ। सो अवसरमा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानुनी सुधार सम्बन्धमा संघको तर्फबाट धारणा राखिन्।
यस्तै, संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानुनी र व्यवहारिक कठिनाइबारे जानकारी गराउँदै ती कठिनाइलाई तत्काल सम्बोधन गर्न आग्रह गरे।
विदेशमा रहेका बहुसंख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका सिलसिलामा अंगभंग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नुका साथै उनीहरुका परिवारलाई आर्थिक सहायतासहित पुनर्एकीकरण लगायतका विषयमा सरकारले पहलकदमी लिनुपर्ने अध्यक्ष केसीले माग राखे।
यस्तै, संघका अध्यक्ष कुल आचार्यले संघले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गरे। ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारण अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुंगो लगाउन संघका तर्फबाट आग्रह गरे।
जवाफमा प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका लाखौं नेपालीहरुको मन जित्नेगरि काम गर्ने प्रतिबद्धता जनाए। ‘विदेशमा लाखौं नेपालीहरु छन्, मैले मेरो दोस्रो कार्यकालसम्म एनआरएनएले उठाएका मागहरु सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो इनिंग्स्मा विदेशमा बस्ने बहुसंख्यक नेपालीको मन जित्छु’, प्रधानमन्त्रीले भने।
उनले विद्यमान कतिपय कानुनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानुनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताए।
‘कतिपय परम्परागत ऐन कानुन छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ। तपाईंहरुलाई विश्वस्त पार्न चाहान्छु कि, म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु’, प्रधानमन्त्री प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।