काठमाडौं– जहाज दुर्घटनाबाट आइतबार ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव व्यवस्थापन तथा परीक्षण कार्य सुरु भएको हो।
अस्पतालले विमान दुर्घटनास्थलबाट निकालिएका शवमध्ये पहिचान गरेर ४६ वटालाई काठमाडौं पठाउने तयारी गरेको छ। बाँकी शवलाई पोखराबाटै परिवारलाई जिम्मा लगाइने स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
अस्पतालको यो सूचनापछि केहीबेर अस्पताल परिसरमा विवाद पनि भएको थियो। पोखरा पुगेका परिवारका सदस्यहरुले यतै शव दिनुपर्ने भन्दै नारावाजी पनि गरेका हुन्।
पहिचान खुलेका र नखुलेको छुट्टाछुट्टै राखिने र शव परीक्षण गर्दै क्रमश: आफन्तको जिम्मा लगाइने प्रतिष्ठानका निर्देशक भरतबहादुर खत्रीले जानकारी दिए।
अस्पताल प्रशासनले पीडितको परिवारसँग कुरा गरेर पोखरामै पनि शव जिम्मा दिने जानकारी गराएपछि विवाद मिलेको थियो। प्रतिष्ठानले २३ वटा शव पोखरामै परिवारलाई जिम्मा लगाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।