काठमाडौं– पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछि खोज तथा उद्धारमा ७०० बढी सुरक्षाकर्मी परिचालन भएका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७१९ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा परिचालन भएका हुन्। खोज तथा उद्धारमा सबैभन्दा बढी नेपाल प्रहरीका ३०० जना खटिएका छन्। यस्तै, सशस्त्र प्रहरी बलबाट २२७ र नेपाली सेनाबाट १९२ जना सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीसहित मातहत युनिटबाट समेत गरी ३०० जना प्रहरी कर्मचारी खोज तथा उद्धारमा खटिएका छन्।
यस्तै, सशस्त्र प्रहरी बलबाट २२७ जना परिचालन भएका थिए। सशस्त्र प्रहरीको नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीबाट १५० जना, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनबाट ६२ जना र विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनबाट १५ जना परिचालन भएका थिए।
यस्तै, नेपाली सेनाको भगवति दल गण फुलबारीबाट १९२ जना सुरक्षाकर्मी परिचालन भएका थिए।
आइतबार बेलुकीसम्म ६९ जनाको शव फेला परेको जनाइएको छ। विमानमा ६८ यात्रु र चालक दलका ४ जना सदस्य गरी ७२ जना सवार थिए।
यती एयरलाइन्सको ९एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो।
यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।