पोखरा– नेपाली कांग्रेसका महामन्त्री गत आइतबार पोखरा लिट्रेचर फेस्टिभलमा पुगे। कार्यक्रमस्थलमा उनलाई सुन्नेहरूको बाक्लो भिड जम्मा भइसकेको थियो।
कर्म राजनीति भए पनि साहित्य र संस्कृतिमा नजिकबाट चासो राख्ने गगनले ‘कथा काठमाण्डू’को सेसनका लागि स्टेज चढ्दै गर्दा आफू राजनीतिक कुराभन्दा बाहिरका विषयमा गफिने बताए।
गगनको सामुन्ने मञ्च सेयर गर्ने लेखक बुद्धिसागर ‘नर्भस’ देखिन्थे। तर गगनले भने,‘आफूलाई मनपर्ने लेखकसँग कुरा गर्नुपर्दा नर्भस भइने रहेछ।’ दुवैले आफूलाई ‘नर्भस’ भएको दाबी गर्दै काठमाडौंका स्मृति सुरु गरे।
गगनले हालै बुद्धिसागरको नयाँ उपन्यास ‘एक्लो’ पढिसिध्याएका थिए। बुद्धिसागरको ‘एक्लो’को प्रसंग जोड्दै काठमाडौंका कथा उप्काउन सुरु गरे।
बुद्धिसागर पहिलो पटक कालिकोटबाट आफ्नो मार्कसिटमा छुटेको नामको ‘पि’ अक्षर थप्न काठमाडौं हिँडेका थिए। ‘मलाई मेरो त्यो पि छुट्नु नै यहाँ पुग्नु हो जस्तो लाग्छ,’ उनले सुनाए।
अनि उनले पहिलो पटक गगन थापाको नाम सुनेको प्रसंग सुनाए। जतिबेला उनले भोकले मुर्मुरिएर मःम खाए, त्यतिबेला साथीले भने, ‘तिमी नेपाली साहित्यको गगन थापा हौ।’
बुद्धिसागरले भनिरहँदा गगन मुसुमुसु हाँसिरहेका थिए। बुद्धिसागरले संघर्ष गर्दै गर्दाको क्षण गगन थापा विद्यार्थी राजनीतिमा संघर्षरत् थिए।
‘मलाई कसैले घर कहाँ भन्यो भने म काठमाडौं भन्छु। मेरो बाले सोलुखुम्बु भन्नुहुन्छ। घर भनेको एउटा नेटवर्क पनि हो, बाल्यकालको कल्पनाशिलताको परिवेश पनि हो। घर भन्ने बित्तिकै म मेरो बाल्यकाल, खेलेको खेत मेरा आफ्ना कुरा सम्झन्छु। मेरा बासँग त्यो सबै सम्झना सोलुखुम्बुको छ,’ काठमाडौं सम्झना गर्दै गगनले भने।
विशालनगरको हिँड्ने भर्याङ देखेर बुद्धिसागर छक्क परेका थिए। बुद्धिसागरले काठमाडौंमै जन्मे हुर्केका गगनलाई सोधे, ‘तपाईंलाई त्यस्तो के कुराले छक्क बनायो?’
‘सायद पहिलो पटक मोबाइलले छक्क गरायो होला। हाम्रोमा टेलिभिजन हुने घर थियो, टेलिफोन हुने घर थियो। यसरी हेर्दा धेरै पटक सरप्राइज दियो,’ उनले भने।
बुद्धिसागरको लागि काठमाडौं भनेको एउटा सहरको नाम मात्रै नभएर प्रवृत्ति पनि रह्यो। ‘काठमाडौंको बारेमा मैले सुनेको तीन चिज मात्रै थियो। एउटा रत्नपार्क, अर्को धरहरा र अर्को असन। सबै कविले आफ्नो आफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ। मेरो लागि काठमाडौं अवसर चाहिँ हो। काठमाडौं सहरको नाम भए पनि यो प्रवृत्ति हो जस्तो लाग्छ। जुन हामी बाहिरबाट जानेहरुले नै बनाएको हो,’ बुद्धिसागर भन्छन्।
काठमाडौंसँग गगनको जिज्ञासा थियो, ‘काठमाडौं मुम्बई, न्युयोर्कजस्तो बन्न योग्य सहर छैन। मानिसहरूले सपनाको सहर नाम दिएर काठमाडौंलाई भारी बोकाइरहेका त छैनौं?’
आफू काठमाडौं आएपछि हेर्दा हेर्दै भुइँ कुहिरो र रुख पनि हराएको बताउँदै पार्क, रुख, चराहरू, खोला आदिका लागि मानिसले चासो दिने नगरेको बुद्धिसागरले बताए।
साथै पाउनुपर्ने अधिकारबारे धेरैलाई थाहा नभएको हो कि भन्ने जिज्ञासा पनि राखे। जसमा काठमाडौंमा चराको विषय, रुखको विषय आलोचना गर्नुपर्दा उठ्ने तर सार्वजनिक विमर्शको विषय कहिल्यै पनि बन्ने नगरेको कुरा गगनले जोडे।
गगनलाई लाग्दो रैछ– ‘२०४६ सालको परिवर्तन पछाडि धेरै अवसरहरु आए। एउटा सानो समय काठमाडौंले धेरै मानिसलाई तान्याो।
अब यो काठमाडौंको खोलानाला, वातवरण सबैलाई सँगै राखेर विकासको मोडल बनाउनुपर्ने र अबको आफ्नो जोड त्यसैमा हुने गगनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।