रोल्पा–‘ती दिन अर्कै थिए, समय नै अर्कै थियो’ भूमिका थापाले स्वास रोकेर भनिन्, ‘अहिलेको समय अर्कै भयो, हो म पनि बदलिएँ।’
२०५२ मा माओवादी भूमिगत हुनुअघिको कुरा हो। सदरमुकाममा जलजला सांस्कृतिक परिवार बेला–बेला नाँचगान प्रदर्शन गर्दथ्यो। भूमिकाको घर सदरमुकामदेखि अलिक टाढै पर्छ। उनी घरबाट सांस्कृतिक कार्यक्रम हेर्न भागेर सदरमुकाम पुग्न थालिन्।
जनयुद्धको घोषणा भएपछि सांस्कृतिक परिवारका कलाकार भूमिगत भए। तत्कालीन सरकारले खुला रुपमा सांस्कृतिक कार्यक्रम देखाउन प्रतिबन्ध लगायो। सुरक्षा निकायको आँखा छलेर सदरमुकाम र टाढाका बस्तीमा कार्यक्रम सञ्चालन हुन्थे। यो खबरले भूमिकाकाका कान ढकढक्याउँथ्यो। गीतसङ्गीतप्रति निकै रुचि थियो। उनी कलाकार बनेरै छाड्ने निश्चयका साथ १५ वषको उमेर नपुग्दै २०५५ सालमा पूर्णकालीन् भइन्।
‘गीतसंगीतले नै समाज बदल्छ भन्ने लाग्थ्यो’ उनले पुराना सम्झिन्, ‘भूमिगत हुँदा खुब मेहेनत पनि गरियो। जनताको घरदैलोमा हिँडियो। गीत र नृत्यबाट जगाउने प्रयास गरियो।’ विसं २०६१ मा जनवादी अन्तरजातीय विवाह गरेकी उनले २०६२ सालमा छोरी जन्मिएपछि छ वर्षदेखि निरन्तर खट्दै आएको सांस्कृतिक मोर्चाबाट बिदा लिनुपर्ने भयो। उनले केही समय विश्राम गर्न पाउने भइन्।
विसं २०६२०६३ को आन्दोलनपछि देशमा आएको लोकतन्त्रसंँगै माओवादी पनि दश वर्ष लामो युद्ध विश्राम गरी शान्ति प्रक्रियामा आउन राजी भयो। पार्टीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि अन्य नेताकार्यकर्ताझैँ उनी पनि सात वर्ष लामो भूमिगत जीवनको अन्त्य गर्दै सामान्य जीवन बिताउन सदरमुकाम लिवाङस्थित घरमा श्रीमान् र छोरीसँग आइन्। उनले राजनीतिकर्मीका साथै गृहिणीका रुपमा समेत भूमिका पाइन्।
शान्ति प्रक्रियापछि पार्टीका सवै संरचना खुला भए। उनलाई महिला मोर्चामा काम गर्ने गरी पार्टीले जिम्मेवारी दियो। भूमिगत अवस्थामा राजनीति नै उनको मुख्य काम हुन्थ्यो, संगठन निर्माण, प्रशिक्षणलगायत काममा समय बिते पनि शान्ति प्रक्रियासँगै ती काम पनि पातलिँदै जान थाले। बेरोजगार बन्न पुगेका नेताकार्यकर्ता रोजगारीका विभिन्न विकल्प खोज्न थाले। उनले पनि सिलाइकटाइ सिक्ने सोच गरिन्। तीन महिना सिलाइकटाइ सिकेर उनले घरेलु उद्योग स्थापना गर्ने सोचका साथ घरेलु विकास समिति, मेडेप, तत्कालीन जिल्ला विकास समितिलगायत संस्था तथा कार्यालयसँग परामर्श गरिन्। सबैको सहयोगले उनीलगायत ११ जनाको शेयर रहने गरी घरेलु उद्योग दर्ता भयो।
‘शुरु शुरुमा उद्योगले झोला, पछ्यौरा र अल्लोको कपडा उत्पादन गरेर बिक्री गथ्र्यो’ भूमिकाले उद्यमतिर लाग्दाको अनुभव सुनाईन् ‘जिल्लाभर झोलाको राम्रो बजार भएका कारण आम्दानी पनि राम्रो थियो। पछिल्ला दिनमा झोला बुन्ने उद्योग गाउँगाउँमा स्थापना भएसँगै झोलाको बजार घट्दै गएको छ।’
रोल्पाको आफ्नै उत्पादन अल्लोेलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित अहिले उनको उद्योगले अल्लोको कपडा तयार गर्न थालेको छ। जिल्ला बाहिरवाट रोल्पा आउने पाहुनाहरु अल्लोका सामान किन्न उनको उद्योगमा पुग्ने गर्छन्। निजामती कर्मचारी, सेना र प्रहरीमा समेत अल्लोबाट निर्मित कोट, इष्टकोट तथा टोपी प्रयोग गर्ने प्रवृत्ति बढेसँगै अल्लोको मागसमेत बढेको थापाले बताइन्।
जिल्लाका स्थानीय तहले समेत स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भन्दै अल्लोबाट निर्मित पोशाकलाई औपचारिक पोशाक बनाउने निर्णय गरेका छन्। ‘रोल्पा नगरपालिका र सुनछहरी गाउँपालिकाले यस्तो निर्णय गरेर पोशाक तयारीसमेत गरिसकेका छन्’ थापाले भनिन् ‘पुरुष जनप्रतिनिधिका लागि अल्लोको कोट तथा महिला प्रतिनिधिका लागि अल्लोको कोट र स्थानीय उद्योगबाट निर्मित ऊलनी कपडाको साडी तयार गरी दिएका छौँ।’ जिल्लाका अन्य स्थानीय तहवाट समेत अर्डर आउने क्रम चलिरहेको जानकारी उनले दिइन्।
जिल्लाका धवाङ, ह्वामा, गाम, सेरमलगायत स्थानबाट अल्लोको धागो आपूर्ति गर्ने गरेको उनले बताइन् । 'कहिलेकाहीँ कमसल धागो आउँदा उत्पादन नै नराम्रो हुन्छ', थापाले भनिन्।
उनीसँगै नौ महिलाले उद्योगमा काम गर्छन्। विद्रोहमा सहभागी भई ज्यान गुमाएकाहरुको परिवार, एकल महिलासमेत मिलेर उद्योग सञ्चालन भएको छ। “उद्योगमा अधिकांश जनयुद्धबाट प्रभावितहरु छौँ”, थापाले भनिन्। हरेक सदस्यले मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्दै आएको थापाको भनाइ छ। परिवारको पालनपोषण, बालबालिकाको पढाइ र औषधोपचारका लागि सहयोग भइरहेको उनले बताइन्।
भूमिकाले विभिन्न पुरस्कार तथा सम्मानसमेत प्राप्त गरेकी छन्। उनलाई घरेलु तथा साना उद्योग विकास समिति रोल्पा, राष्ट्रिय युवा परिषद्बाट ४० वर्षमुनिका युवा उद्यमीलाई गरिने सम्मान र उद्योग मन्त्रालयबाट सम्मान मिलेको छ।
उद्योगको निरन्तरता र दिगोपना मुख्य चुनौती रहँदै आएको उनको भनाइ छ। विगतमा घरेलु तथा साना उद्योग विकास समितिको प्राविधिक सहयोग तथा मेडेप र जिविसको आर्थिक सहयोग हुँदा यन्त्र र औजार खरीद सहज हुँदै आएको थियो। स्थानीय तहको गठनसँंगै यी संरचनामा देखिएको अस्तव्यस्ताताले आफूहरुलाई पनि प्रभाव पारेको उनको भनाइ छ।
‘आधुनिक प्रविधि र यन्त्र– औजारविना प्रतिस्पर्धाको बजारमा टिक्न गाह्रो हुन्छ’ भूमिकाले सुनाइन्, ‘यसतर्फ स्थानीय सरकारहरुले सहयोग गर्नेछन् भन्ने विश्वास लिएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।