काठमाडौं– अनौपचारिक स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना कार्यविधि २०७९ सार्वजनिक गरिएको छ।
असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने मूल नाराका साथ मंगलबार कार्यक्रम सम्पन्न भएको हो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कार्यविधिमा हस्ताक्षर गर्दै सार्वजनिक गरे।
सामाजिक सुरक्षा कोष सबैका लागि सामाजिक सुरक्षा प्रदान गर्ने मूल ध्येयमा सञ्चालन भएको श्रम तथा सुरक्षा मन्त्री कुँवरले बताए। ‘मान्छेले आफ्नो सुरक्षाका लागि संविधान बनाएको हुन्छ। कानुनले मानछेको सुरक्षा गर्छ। त्यस्तै, यो सामाजिक सुरक्षा कोष पनि आफ्नो सुरक्षाका लागि बनाइएको हो। यो संविधानमा जे प्रावधान हुन्छ। यसमा पनि त्यही हो। आफ्नो सुरक्षाका लागि सामाजिक सुरक्षा कोषको उपयोग गरौँ,’ उनले भने।
साथै, कोषका कार्यकारी निर्देशकले १ वर्ष अगाडि सामाजिक सुरक्षा कोष सापेक्ष रहेको र अहिले यो कार्यविधि सफल भएको बताए। ‘अनौपचारिक, स्वरोजगार कार्यविधि खै भन्ने प्रश्न आउने गरेको थियो अहिले सफल भयो,’ उनले भने।
यसै सन्दर्भमा औपचारिक क्षेत्रका श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना सञ्चचालन कार्यविधि २०७५ कार्यन्वयनमा रही रहेको बताएका छन्। कोषले आफ्नो कार्यक्षेत्र विस्तार गरी अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार व्यक्तिका लागि सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ र वैदशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ गत मंसिर २५ गते मन्त्रालयबाट स्वीकृत भइसकेको कोषले बताएको छ।
कोषका अनुसार स्वीकृत कार्यविधि बमोजिम अनौपचारिक क्षेत्रका श्रमिकहरुले सरकारले तोकेको न्यूनतम आभारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम अर्थात् न्यूनतम १ हजार ९१२ रूपैयाँ कोषमा जम्मा गरी कोषबाट सञ्चालित विभिन्न योजनाहरुमा सहभागी हुन सक्ने छन्।
आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत अर्थात न्यूनतम २ हजार मासिक रुपमा अधिकतम त्यसको तीन गुणासम्म कोषमा जम्मा गरी सुविधामा सहभागी हुन सक्नेछन्। यसैगरी, स्वरोजगारमा रहेका व्यक्तिहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत अर्थात् न्यूनतम २ हजार नौ सय नौ रूपैयाँ पैतिस पैसाका दरले अधिकतम उक्त रकमको तीन गुणसम्म कोषमा जम्मा गरी कार्यविधि बमोजिमको सुविधा उपयोग गर्न पाउने व्यवस्था रहेको छ।
कार्यविधिले नियमित रुपमा कोषमा आवद्ध हुने व्यक्तिहरुलाई औषधि स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना दुर्घटना तथा अशक्तता सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना ल्याएको छ। अनौपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधिले आगामी वेशाख १ गतेबाट प्रारम्भ हुने छ। साथै, वैदेशिक कार्यविधि स्वीकृत भएको मितिले ९०औं दिनबाट प्रारम्भ हुने कार्यविधिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।