काठमाडौं– फ्रान्स राष्ट्रिय फुटबल टोलीका सबैभन्दा ठूला खेलाडी करिम बेन्जेमा विश्वकप कतारमा विश्वकप सुरु हुनुभन्दा एक दिन अगाडि अर्थात गत नोभेम्बर १९ मा घाइते भए। त्यसपछि उनी विश्वकपबाट बाहिरिँदै घर फर्किए।
प्रमुख खेलाडी बेन्जेमा नै घाइते भएपछि फ्रान्सले ठूलो घाटा हुने अनुमान थियो। यद्यपि, त्यस्तो देखिएन। बेन्जेमा नहुनका बाबजुद पनि फ्रेन्च टोली फाइनलमा पुगिसकेको छ। अब फ्रान्सले उपाधि भिडन्तका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ।
दुई पटकको विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्ने अभियानबाट अब एक खेलमात्र टाढा छ।
यस्तोमा बेन्जेमा भने आफ्नो क्लब रियल म्याड्रिडमा रहेर ठीक हुने कोसिस गरिहेका छन्। यसैबीच, क्लबले बेन्जेमा विश्वकपको फाइनल खेल्नका लागि ठीक भएको बताएको स्पेनिस पत्रिका मार्काले जनाएको छ। यद्यपि, फ्रान्स टोलीले भने बेन्जेमा फाइनलमा सहभागी हुन कतार आउनबारे केही बताएको छैन।
बेन्जेमा फुटबलमा दिइने सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार बालोन डि‘ओर २०२२ का विजेता हुन्। यसर्थ, फ्रेन्च टोली बेन्जेमाको नाममा पनि विश्वकपको ट्रफी होस् भन्न चाहन्छ। यसर्थ, उसले घाइते हुनका बाबजुद बेन्जेमाको नाम स्क्वाडबाट हटाएको छैन। सन् २०१८ को विश्वकप फ्रान्सले जित्दा पनि ‘सेक्स टेप’ प्रकरणका कारण बेन्जेमा टोलीमा अटाएका थिएनन्। यसर्थ, फ्रेन्च टोली यो पटक बेन्जेमालाई विश्वविजेता हुनबाट बञ्चित गर्न चाहँदैन।
बेन्जेमा फ्रेन्च टोलीमा फर्किएर अर्जेन्टिनाविरुद्ध खेल्छन्–खेल्दैनन् टुंगो छैन। तर, फ्रान्सले फाइनल जितेमा उनी विश्वकप विजेता बन्ने निश्चित छ।
यसरी बेन्जेमाले खेल्नु त के प्रतिस्थापन खेलाडी बस्ने बैन्चमै नबसी विश्वकप विजेता बन्न सक्छन्। यसो भएमा विश्वकपको मुखैमा घाइते भएर ‘अभागी’को ट्याग लागिरहेका उनी ‘भाग्यमानी’ कहलिन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।