काठमाडौं– कतारमा विश्वकप फुटबल हुनुअघि र खेल दौरान केही देशका महत्वपूर्ण खेलाडी घाइते भए। यो सूचीमा फ्रान्सका खेलाडी धेरै छन्।
नोभेम्बर १४ देखि डिसेम्बर २३ सम्ममा फ्रान्सका ७ खेलाडी घाइते भए।
फ्रान्सका सबैभन्दा भरपर्दा डिफेन्सिप मिडफिल्डर एंगेलो कान्टे सबैभचन्दा पहिलो घाइते भएर विश्वकप गुमाउनेमा पर्छन्। उनी १४ अक्टोबरमा घाइते भएका थिए।
यस्तै, इटालियन क्लब एसी मिलानका गोलकिपर माइक मेगनान २१ अक्टोबरमा घाइते भए।
त्यसपछि पनि फ्रान्सका खेलाडी घाइते हुनेक्रम रोकिएन। भरपर्दा सेन्ट्रल मिडफिल्डर पउल पोग्बा ३१ अक्टोबरमा घाइते भए भने पिएसजीका डिफेन्डर प्रेसनेल केम्पेम्बे ४ नोभेम्बरमा घाइते भए। यसपछि पनि यो क्रम रोकिएन। विश्वकप सुरु हुनुभन्दा २ दिनअघि अर्थात् नोभेम्बर १६ मा क्रिस्टोफर इन्कुन्कु घाइते हुन पुगे।
नोभेम्बर १९ मा फ्रान्सले सबैभन्दा ठूला खेलाडी गुमायो। प्रमुख खेलाडी करिम बेन्जेमा नै घाइते भए।
त्यसपछि नोभेम्बर २२ मा समूह चरणको पहिलो खेलमै फ्रान्सलाई अर्को धक्का लाग्यो। अष्ट्रेलियासँगको उक्त खेलमा सुरुवाती ११ खेलिरहेका लुकास हर्नान्डेज घाइते भए। एक दिनपछि आएको रिपोर्टअनुसार उनले बाँकी खेल खेल्न नसक्ने निधो भयो।
उल्लेखित ७ मध्ये अधिकांश आ–आफ्ना स्थानका महत्वपूर्ण खेलाडी थिए। उनीहरूको रित्तता फ्रान्सलाई महंगो हुने अनुमान थियो। अझ, टोलीका प्रमुख स्ट्राइकरसमेत रहेका बालोन डि‘ओर विजेता बेन्जेमा घाइते भएपछि साविक विजेता फ्रान्सको अग्रपंतिमा असर पर्ने आँकलन गरिएको थियो। तर, अन्य खेलाडीले उनीहरूको कमी हुन दिइरहेका छैनन्। फ्रान्स उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुगिसकेको छ। अब उपाधिका लागि आइतबार राति ८ः४५ बजे अर्जेन्टिनासँग भिड्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।