काठमाडौं– भारतको अरुणाञ्चल प्रदेशस्थित सीमा क्षेत्रमा भारत र चिनियाँ सेनाबीच झडप भएको छ। जसलाई दुवै देशले स्वीकार गरिसकेका छन्। भारत र चीन दुवैले एकले अर्कोलाई आ–आफ्नो क्षेत्रमा हस्तपक्षेप गरेको आरोप लगाएका छन्।
भारतका रक्षामन्त्रीले संसद्मा चिनियाँ सैनिकले तवाङको याङ्त्से क्षेत्रको वास्तविक नियन्त्रण रेखामा अतिक्रमण गरेर यथास्थितिलाई एकतर्फी बदल्ने प्रयास गरेको जानकारी गराएका छन्। तर भारतीय सैनिकले उक्त प्रयासलाई विफल बनाएको रक्षामन्त्रीले बताए।
भारतीय रक्षामन्त्रीका अनुसार यस झडपमा कुनै पनि भारतीय सैनिकको मृत्यु भएको छैन र कोही गम्भीर रुपमा घाइते पनि भएको छैन।
राजनाथ सिंहले भने, ‘यस झडपमा दुवै देशका सैनिक घायल भए। तर कसैको मृत्यु भएको छैन।’ अरुणाञ्चल प्रदेशमा भारत र चीनबीच सीमा स्पष्ट छैन। दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन्। उक्त प्रदेशको ९० हजार वर्ग किलोमिटर क्षेत्र आफ्नो भएको चीनले दाबी गर्दै आएको छ। तर चीनले पश्चिम अक्साइको ३८ हजार वर्गकिलोमिटर क्षेत्रमा कब्जा गरेको भारतले आरोप लगाउँदै आएको छ।
पछिल्लो झडप ९ डिसेम्बरमा भएको हो। भारतीय मिडियामा यस घटनाबारे १२ डिसेम्बरमा मात्र खबर आएको थियो। पछि मंगलबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले संसद्मा जानकारी गराएका थिए।
भारतको बयानपछि चीनको विदेश मन्त्रालयले अवस्था नियन्त्रणमा रहेको र दुवै देशबीच सीमाबारे भएको सम्झौता कार्यान्वयनका लागि भातरसँग अनुरोध गरेको बताएको छ।
यता चिनियाँ सेनाका प्रवक्ताले पीएलएका पश्चिम थिएटर कमाण्ड वास्तविक नियन्त्रण रेाखमा चिनियाँ भू–भभागमा रुटीन पेट्रोलिङ गरिरहेका बेला भारतीय सैनिक चीनको क्षेत्रमा आएको र उनीहरुलाई चिनियाँ सैनिकले रोकेको बताए।
अर्थात् भारत र चीन दुवैले एक अर्कामाथि आफ्नो क्षेत्रमा घुसपैठ गरेको आरोप लगाएका छन्। चीनका तर्फबाट घटनाको चौथो दिनमा प्रतिक्रिया आएको हो।
यसअघि गलवानमा दुवै देशका सैनिकबीच भएको झडपमा पनि भारतले बयान जारी नगर्दासम्म चिनियाँ प्रतिक्रिया आएको थिएन।
चीनका तर्फबाट घटनाबारे बयान आउन ढिलाइ हुनेबारे बताउँदै लण्डनको यूनिभर्सिटी अफ वेस्टमिन्स्टरका प्रोफेसर, चीन मामलाका जानकार दिब्यस आनन्द भन्छन्, ‘चीनमा कम्युनिस्ट पार्टीको मिडियामा नियन्त्रण छ। उनीहरु संवेदनशील लागेको मुद्दामा तत्काल रिपोर्ट गर्दैनन्। जब कुनै मुद्दामा पार्टीको लाइन स्पष्ट हुन्छ र सहमति बन्छ। तब मात्र मिडियामा रिपोर्ट गर्छन्। चीनका अधिकांश मिडिया एकै प्रकारको कुरा गर्छन्।’
भारतमा यस झडपलाई लिएर संसद्मा चर्चा भयो। विपक्षीले प्रश्न उठाइरहेको छ। मिडियामा पनि खबरहरु आइरहेका छन्। तर चीनमा त्यस्तो प्रतिक्रिया छैन। चीनका मिडियाले यो खबरलाई प्राथमिकता दिएका छैनन्। चीनमा विपक्षी नभएको र कसैले पनि प्रश्न नउठाएको उनी बताउँछन्।
उनी भन्छन्, ‘चीनको भू–राजनीतिक समीकरणमा भारत धेरै महत्त्वपूर्ण छैन, जति भारतका लागि चीन हो। यही कारण यस्ता प्रकारका घटनामा जुन तरिकाले भारतमा प्रतिक्रिया आउँछन् चीनमा आउँदैनन्।’
भारतका रक्षा विशेषज्ञका अनुसार चीनले जानाजान भारतसँग सीमा तनावलाई बढावा दिइरहेको छ। भारतका पूर्व सेना प्रमुख जनरल बीपी मल्लिक भन्छन्, ‘याङ्त्से तवाङभन्दा २५ किलोमिटर उत्तरमा ११–१२ हजार फिटको उचाइमा छ। यो पुरानो विवादित इलाका हो। सन् १९९० को दशकमा जब भारत र चीनका अधिकारीबीच कुराकानी सुरु भयो, त्यसबेलादेखि नै यसलाई विवादित क्षेत्र मानिएको छ।’
उनले आफू सेना प्रमुख हुँदा जुलाई १९९९ मा चीनले भारतमा आएर बैठक गर्ने कोसिस गरेको र आफूहरुले चीनको सामना गरेपछि उनीहरु फिर्ता गएको बताए। उनी भन्छन्, ‘तर अब गलवानको घटनाको अढाई वर्षपछि यो झडप भएको छ। त्यो पनि दुवै देशबीच कुटनितिक तरिकाले सैन्यस्तरमा कुराकानी भइरहेका बेला।’
उनले चीनको ‘रवैथा’ यथावत् रहेको बताए। सीमामा चीनको चातुर्यता जारी रहेको आरोप लगाए। चीनले अहिले आफ्नो मान्दै आएको इलाकामा कब्जा गर्न चाहेको उनको भनाइ छ। ‘गलवानपछि भारत र चीन दुवैले सीमामा तैनाथी बढाएका छन्। यसले पनि तनाव बढेको हो’, उनले भने।
जनरल मलिकका अनुसार चीनले भारतमाथि दबाब बढाउने कोसिस गरिरहेको छ। टेक्निकल स्तरमा भारत र चीन आमनेसामने बसेको र चीनले भातरमाथि लगातार दबाब बढाइरहेको उनको भनाइ छ।
स–साना घटनाले पनि ठूलो रुप लिँदै गएको र त्यसका लागि भारत तयार हुनुपर्ने मलिकको भनाइ छ। यस्तै, भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल शंकर प्रसाद भन्छन्, ‘भारतले चीनसँग २ खास सम्झौता गरेको छ। जसको उद्देश्य सीमामा शान्ति स्थापना गर्नु हो। यसका बावजुद शान्ति स्थापना भइरहेको छैन। गलवानको घटना भयो। त्यसअघि डोकलाम र अहिले तवाङमा भयो।’
यस्तो हुनुका पछाडि चीनले भारतलाई कमजोर सोचिरहेको उनी बताउँछन्। यता अन्तर्राष्ट्रिय मामिलाका जानकार वरिष्ठ पत्रकार तथा पुस्तक ‘ड्रयागन अन आवर डोरस्टेप: म्यानेजिङ चाइना थ्रु मिलिट्री पावर’ की सह–लेखिका गजाला बहाव भन्छिन्, ‘भारत र चीन दुवै देश आपसमा एक दोस्रोका प्रतिद्वन्द्वी मान्छन्। चीनले भारतलाई आफ्नो प्रतिस्पर्धी मान्दैन। भारतले चीनसँग प्रतिस्पर्धा गर्न सक्दैन भन्ने उसलाई लाग्छ। तर भारतको दृष्टिकोण हामी शक्तिशाली हौं र दक्षिण एसियाकै प्रमुख शक्तिशाली मानियोस् भन्ने छ।’
चीनले यस स्थितिलाई स्वीकार नगर्ने र विश्वकै शक्तिशाली अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ। ‘यस्तोमा भारत र चीनबीच प्रतिस्पर्धा कसरी हुनसक्छ?’ उनी भन्छिन्, ‘यही कारण चीनले आफूलाई भारतभन्दा श्रेष्ठ प्रमाणित गर्ने कोसिस गरिरहेको छ।’ बीबीसी हिन्दीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।