काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्प्रभावी (निष्क्रिय) भएको भन्दै उनको निलम्बन फुकुवा गर्ने संघीय संसद् सचिवालयका महासचिव भरत गौतमको पत्रविरुद्ध दायर रिटमाथिको प्रारम्भिक सुनुवाइअन्तर्गत शुक्रबार बहस सकिएको छ।
सर्वच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीहरुले दायर गरेको रिटमाथिको सुनुवाइका क्रममा शुक्रबार ५ जना वरिष्ठ अधिवक्ताहरुले बहस गरे। वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले आफ्ना ‘कुरा’ राखेपछि बहस सकिएको हो।
बहस सकिएपछि संवैधानिक इजलासका न्यायाधीशहरु आफ्नो इजलासमा गएका छन्। सर्वोच्च अदालत प्रशासनले केही बेरमा आदेश आउने जानकारी दिएको छ।
प्रारम्भिक सुनुवाइका क्रममा बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ताहरुले महासचिवको उक्त पत्र विधि र प्रक्रिया विपरीत भएको दाबी गरेका छन्। महासचिव गौतमले आफ्नो अधिकारको दुरुपयोग गरी, अधिकारी क्षेत्रभन्दा बाहिर गएर महाभियोग निष्क्रिय रहेको भनेर पत्र लेखेको भन्दै उनीमाथि कारबाही हुनुपर्ने माग पनि संवैधानिक इजलासमा उठेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।