काठमाडौं– सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समिति बैठक बिहीबार काठमाडौंमा बसेको छ। बैठकले जनमत पार्टीको संसदीय दलको विधान अनुमोदन गर्नुका साथै समानुपातिकतर्फको नाम तय गरेको छ।
बैठकमा निर्वाचनको समीक्षा र सरकारमा जाने बारेमा पनि छलफल भएको उक्त पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए। बैठकमा अधिकांश नेताहरुले सरकारमा सहभागिताका बारेमा सकारात्मक धारणा राखेको उपाध्यक्ष खानले बताए।
जनमत पार्टीका अनुसार यो बैठक पार्टीको नियमित बैठक नै हो। जनमत पार्टीको केन्द्रीय समिति बैठक हरेक ६/६ महिनामा बस्ने नियम अनुसार नै यो बैठक बसेको हो।
गएको ४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष राउतले सप्तरी–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे। समानुपातिकतर्फ पनि यो पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बनेको छ।
पछिल्लो केही समययता जनमतका अध्यक्ष राउतले सत्तागठबन्धनसहित अन्य पार्टीका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन्। सत्ता गठबन्धनसँग जनमत पार्टीले केन्द्र र मधेश प्रदेशमा सत्ता सहयात्रा नै गर्ने गरी कुरा अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।