काठमाडौं- नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्।
ज्यापु संस्कृति विकास कोषले बिहीबार गरेको १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन्। उनले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए।
नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘अब हामीले लामो कुरा गर्नेभन्दा पनि काम गरेर देखाउनुपरेको छ। समय परिवर्तनशील छ र परिवर्तित समयअनुसार हामीले आफ्नो समुदायलाई सुहाउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराइमा समयको मागबमोजिम सिक्नुपर्छ र त्यहीअनुसार अगाडि बढ्नुपर्छ।’
उनले समय परिवर्तनशील छ भन्दैमा हाम्रा पुर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई पनि पूरै अवमूल्यन गर्न नमिल्ने बताए। ‘हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो। नेवारी भाषालाई जोड दिएर जुन रुपमा अगाडि बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ,’ नेता सिंहले भने, ‘यसलाई हामी सबैले महसुस गर्नुपर्छ।’
उनले पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने पनि बताए। यद्यपि, समयअनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।