ककनी- नुवाकोटस्थित सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालयले आफ्नो ११औं स्थापना दिवस मनाएको छ।
सशस्त्र प्रहरी बल, नेपालमा रहेका स्थायी इकाईहरुको यसै वर्षदेखि स्थापना दिवस मनाउने संगठनको नीति अनुसार सो तालिम शिक्षालयको स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले यस्ता किसिमका कार्यले सशस्त्र प्रहरी बल, नेपालका इकाईहरुमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको मनोबल उच्च बनाउन तथा सामूहिक भावनाको विकासमा समेत सघाउ पुग्ने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सो शिक्षालयमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी, उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिपेन्द्र शाह तथा प्रशिक्षण प्रतिष्ठानका सह–निर्देशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनाले शिक्षालयमा आयोजना गरिएको विविध खेलकुद बिद्यामा प्रथम भएका सशस्त्र प्रहरी कर्मचारी तथा समूहलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए।
सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र शाहले धन्यवाद ज्ञापन गर्दै यस तालिम शिक्षालयले सीमित श्रोत साधनको बाबजुद मिसन एरियामा परिचालन हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्चस्तरको तालिम प्रदान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।