काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले संसद् सचिवालयका कर्मचारीले संविधानकाथि 'कु' गरेको आरोप लगाएका छन्। संसद् सचिवालयका महासचिवले संसदमा महाअभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई निलम्बन फुकुवाको पत्र काटेपछि गुरुङले उक्त टिप्पणी गरेका हुन्।
संविधानले संसद्लाई दिएको क्षेत्राधिकारको हनन गरेर संसद् सचिवालयका महासचिवले पत्र काटेको आरोप उनले लगाएका छन्।
‘संवैधानीक हिसाबले महाअभियोगको विषय संसद्ले टुङ्ग्याउनु पर्ने हो। नयाँ संसद् बस्नै लाग्दा संसद् सचिवालयका कर्मचारीले संसद्को क्षेत्राधिकारलाई हन्न गरेर पत्र काटेका छन्। यो असंवैधानिक र गैरकानुनी हो। संसद् सचिवालयले एक किसिमको संविधानमाथि 'कु' गरेका छन्। यो कार्यान्वयनमा आउन दिनु हुँदैन,’ नेपाल लाइभसँग कुरा गर्दै गुरुङले भने।
गत वर्षको फागुन २१ गते संसदमा राणा विरुद्ध महाअभियोग दर्ता गराएसँगै उनी निलम्बनमा परेका थिए। संसद् सचिवालयको पत्रसँगै राणा सर्वोच्च फर्किने तयारीमा रहेका छन्। अदालत परिसरमा वकिलहरु राणालाई छिर्न नदिन धर्ना बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।