काठमाडौं– आफूविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी पाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च अदालतमा हाजिर हुन जाने तयारीमा छन्।
राणाले बुधबार बिहानै सर्वोच्चमा हाजिर लगाउने खोजेका थिए। तर, सर्वोच्च प्रशासनले प्राविधिक विषय मिलाउन समय चाहिने बताएपछि उनी २ बजे सर्वोच्च जाने तयारीमा थिए।
यसबीचमा राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्ने जानकारीसहितको संसद् सचिवालयको पत्र सर्वोच्च अदालत (न्याय परिषद्)मा पुग्यो। संसद् सचिवालयको पत्र आएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनको आकस्मिक बैठक बस्यो।

दुवै बारको बैठकले राणालाई अस्वीकार गर्ने निर्णय गर्दै उनलाई सर्वोच्चमा प्रवेश गर्न नदिन मुख्य प्रवेशद्वारमा धर्ना दिने निर्णय गर्यो। बारको निर्णयानुसार कानुन व्यवसायीहरुले प्रवेशद्वारामा धर्ना दिइरहेका छन्।
सर्वोच्च अदालत बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका समर्थक पनि पुगेका छन्। राणाको समर्थनमा वक्तव्य दिँदै आएकी, आफूलाई अभियन्ता बताउने तारा बरालले भने सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीहरुलाई जुत्ता प्रहार गरेकी छन्।
‘विदेशीको फेसा खाएर आन्दोलन गर्न आएका छन्। यिनीहरुले न्यायालय बचाउँदैनन्,’ धर्नामा रहेका कानुन व्यवसायीहरुप्रति आक्रोश व्यक्त गर्दै बराल सर्वोच्चको गेट बाहिर पुगिन्।

गेट बाहिरबाट उनले भित्र धर्नामा बसेका कानुन व्यवसायीलाई जुत्ता प्रहार गरिन्। कानुन व्यवसायीलाई जुत्ता प्रहार गर्ने बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।