काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएर निलम्बन फुकुवा हुनुलाई न्यायालयका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन्।
संघीय संसद् सचिवालयले राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी (निष्क्रिय) भएको भन्दै बुधबार पत्र पठाएको छ।
नेपाल बारका अध्यक्ष घिमिरेले अदालतमा एकपछि अर्को घटना हुनु दु:खद रहेको बताए।
‘अदालतका विषयमा पटक–पटक धर्नामा उभिनु वा आन्दोनलमा आउनु निकै दु:खद छ,’ सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग बोल्दै घिमिरेले भने।
आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी पाएपछि राणा बुधबार सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा छन्। उनी बुधबार दिउँसो २ बजे सर्वोच्च पुग्ने तयारीमा थिए।
तर, कानुन व्यवसायीहरु राणालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै अदालतको मुख्य प्रवेश द्वारमा धर्नामा बसेका छन्।
बारका अध्यक्ष घिमिरेले भने, ‘आए (सर्वोच्चमा हाजिर भए) पनि केही गर्न नसक्ने अवस्थामा किन आउन चाहानुभयो भन्ने नै अहिलेको प्रश्न भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।