काठमाडौं– महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पुनः सर्वोच्च फर्किन पाउने भएका छन्। संसद् सचिवालयले उनीविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पठाएपछि उनको सर्वोच्च फर्किने बाटो खुलेको हो।
राणाले महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारी गराउन मंगलबार संसद् सचिवालयलाई निवेदन पठाएका थिए।
‘प्रस्तुत विषयको सम्बन्धमा संविधानको धारा १०१(२) बमोजिम तत्कालीन प्रतिनिधि सभामा पेस भएको महाभियोग संसद्को कार्यकाल समाप्त भइसकेको हुँदा संविधानको धारा ८९ (ग), ९१ (६) (क), १११ (१०) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निष्प्रभावी भएको हुँदा प्रधानन्यायाधीशको नियमित कार्य सम्पादन गर्नका लागि सम्बन्धित निकायहरुलाई जानकारी गराइदिनु हुन सादर अनुरोध गर्दछु,’ राणाको पत्रमा भनिएको थियो।
राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। उनीमाथि महाभियोग छानबिन समितिले छानबिन गरेर सभामुखलाई प्रतिवेदन बुझाएको भए पनि प्रतिनिधि सभाकै कार्यकाल सकिएपछि महाभियोग प्रस्ताव अगाडि बढेको थिएन।
यसबीचमा राणा सर्वोच्च फर्किने प्रयास गरे पनि सफल भएका थिएनन्। तर मंगलबार उनले संसद सचिवालयसमक्ष महाभियोग निष्प्रभावी भएको जानकारी गराइ पाऊँ भनी निवेदन दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।