काठमाडौं– अघिल्लो संसद्मा महाभियोग प्रस्ताब दर्ता भएपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा फेरि सर्वोच्च फर्किने तयारीमा छन्।
अघिल्लो संसद् क्रियाशील रहेका बेला राणाविरुद्ध १ फागुन २०७८ मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। उनीविरुद्धको महाभियोग प्रस्तावका सन्दर्भमा महाभियोग सिफारिस समितिमा छलफल समेत भएको थियो।
महाभियोग सिफारिस समितिसमक्ष राणाले बयान समेत दिएका थिए।
तर, राणाविरुद्धको महाभियोग प्रस्तावमाथि कारबाही नटुंगिदै संसद्को कार्यकाल सकिएपछि समितिले अर्को प्रतिनिधि सभाले अगाडि बढाउने गरी प्रस्ताव तत्कालीन सभामुख अग्नि सापकोटालाई बुझाएको थियो।
महाभियोग सिफारिस समितिले सभामुखलाई प्रतिवेदन बुझाएपछि पनि राणाले सर्वोच्च जाने प्रयास गरेका थिए। तर कानुन व्यवसायीहरुले उनलाई सर्वोच्च छिर्न नदिने भन्दै सर्वोच्च अदालत गेटमै धर्ना दिएपछि उनले हाजिर लाउन पाएनन्।
प्रतिनिधि सभाको नयाँ निर्वाचन सम्पन्न भएर अन्तिम मतपरिणाम आइसकेपछि राणा सर्वोच्च जान तयार भएका हुन्।
‘मेरो विरुद्धको महाभियोग निष्क्रिय भयो। म सर्वोच्च फर्किँदै छु,’ नेपाल लाइभसँग राणाले भने।
राणाले केही दिन अगाडि आफूविरुद्धको महाभियोग प्रस्तावबारे सूचना मागेका थिए। त्यसको जवाफमा संघीय संसद सचिवालयका महासचिव भरत गौतमले महाभियोग निष्क्रिय भएको पत्र दिएका थिए।
संसद् सचिवालयबाट महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको पत्र पाएपछि राणा सर्वोच्च जान तयार भएका हुन्।
राणाले आज (बुधबार), केही बेरमा सर्वोच्च पुग्ने बताए। ‘अहिले निवासमै छु। एकछिनमा सर्वोच्चका लागि निस्किँदै छु,’ राणाले नेपाल लाइभसँग भने।
राणाको कार्यकाल मंसिर २७ गते सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।