काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक-पटक त्यही काम एउटा तरिकाले गरेर फरक परिणामको अपेक्षा गर्नु मुर्खता रहेको बताएका छन्। कांग्रेस नेता गुरु घिमिरेको ‘बाटो बिराएको राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले आइनस्टाइनको भनाइ उद्घृत गर्दै यसपल्ट काम गर्ने तरिका बदल्नुपर्ने उल्लेख गरे।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै उनले काम गर्ने तरिका र व्यक्ति नबदलेर परिणामको अपेक्षा गर्न नसकिने बताए। ‘अब के नयाँ हुँदैछ? हामी व्यक्ति बदल्दै छौं कि काम गर्ने तरिका?’ उनले प्रश्न गरे, ‘अहिले सरकार कसको छ? हामीले चाहेको सरकार मात्रै हो?’
आगामी सरकारका दुई दृष्य अहिले देखिएको उनले उल्लेख गरे। उनका अनुसार पहिलो गठबन्धनको सरकार बन्छ। नेताहरुले निजी कम्पनी ठानेर पहिलाको जस्तै भागबन्डा कागजमा तमसुक गर्छन्। बाहिर भन्दैनन् र आफन्तसँग ‘म त अर्को मंसिर पछि बन्छु नि’ भन्छन्।
सरकार के का लागि भन्ने बारेमा सहमति वा विमति केही नहुने थापाको भनाइ छ। उनले थपे, ‘त्यस्तो अवस्थामा ५ वर्ष गठबन्धन सरकार किन चलाउने? के नयाँ हुन्छ?’
त्यसपछि अर्को सम्भावनाबारे बताए। भने, ‘गठबन्धनकै सरकार बन्छ। एउटा स्पष्ट भिजन हुन्छ। एउटा प्रतिबद्धता र एउटा चरित्र चाहिन्छ। त्यो सहितको सरकार बन्छ। सरकारको नेतृत्व गर्नेलाई शक्ति, समय र स्रोतको सीमा जानकारी हुन्छ।’
सरकारमा जानेले केही सपना देख्नुपर्ने, तर त्यो पूरा गर्न सरकारमा आएको भन्ने ठान्नुपर्ने समेत उनले बताए। निर्वाचनका बेला खटिए जस्तै गरी खट्नुपर्ने पनि उनको भनाइ छ। अहिले भान्सादेखि व्यवसायसम्म समस्या रहेकाले हल गर्ने सरकार चाहिएको उल्लेख गरे।
उनले फेरि प्रश्न गरे, ‘अवस्था यस्तो छ लौ न बदलौं भन्दा बाबुहरुको उमेर कति छ भनेर सोध्ने?’
उनले आफू नेता शेखर कोइरालासँगै रहेको बताए। विचार र शैलीका कारण एक ठाउँमा उभिएको उल्लेख गर्दै थापाले उनकै नेतृत्वमा रहेर काम गर्ने बताए। उनले ‘एक्सन’मा उत्रिने समय आएको बताउँदै ‘दाइ रिसाउने कुरा’बाट बाहिर निस्किन कांग्रेसका सांसदहरुलाई आग्रह गरे।
उनले भने, ‘हामीले एक्सनमा देखाउने बेला हो। कुन दाइ रिसाउनुहुन्छ भनेर बस्ने होइन। अब मनको डर निकालिदिनुपर्छ। सही ठाउँ उभिनुपर्छ। अर्को पाँच वर्षपछि गुरु घिमिरे दाइले ‘बाटो सुध्रेको राजनीति’ भनेर लेख्नुहुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।