काठमाडौं– मनाङ प्रदेश सभा (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे)ले नेकपा एकीकृत समाजवादी पार्टी नछोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार एकीकृत समाजावादी पार्टी रोजेका मनाङेले मंगलबार पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादी पार्टी छाड्नु परेमा राजनीति नै छोड्ने उद्घोष गरेका हुन्।
उनले आफू गण्डकी प्रदेशको मन्त्री भएको र काम गर्नका लागि पार्टी आवश्यक पर्ने भएकाले नेकपा एकीकृत समाजवादी रोजेको प्रष्ट पारे।
उनले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने दाबी गर्दै ३८ सिट रहेको बताए। उनले आफूलाई यसअघि ठूला ठूला मन्त्रालयहरुको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको बताए।
मनाङेले भने,‘मलाई ठूल्ठूलो मन्त्रीको अफर गरिएको थियो। मैले युवा तथा खेलकुद मन्त्री नै किन रोजेँ भन्ने कुरा तपाईंहरुले बुझ्नुपर्दछ।’
उनले आफू तत्काल मुख्यमन्त्रीको दाबेदार नभएको बताए। उनले आफू पहिला पनि कम्युनिस्ट पार्टीको सदस्य रहेको र पार्टी फुटेपछि फेरि स्वतन्त्र भएको स्पष्ट पार्दै नेकपा समाजवादी पार्टी निर्माण भएपछि आफू समाजवादी पार्टीमा प्रवेश गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।