काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्यूँताउन सरकार तयार रहेको बताएका छन्।
मंगलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेल लगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेलम्ची खानेपानी बारेमा ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन्।
उनले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी काठमाडौंमा १२ महिना नै ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताए। उनले पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर शहर सफा गर्ने प्रण गरे पनि अहिले आएर उनको सपना पूरा भएकोप्रति खुशी व्यक्त गरे।
प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको उल्लेख गरे। उनले मन्त्रिपरिषद्को बैठकमा मुख्यसचिव सहितका विज्ञ टोलीहरु राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
कांग्रेस नेता सिंहसहितको टोलीले केही दिनअघि मात्रै मेलम्ची खानेपानी मुहानमा पुगेर त्यहाँको अवलोकन गरेको थियो। अवलोकनपछि उनले त्यहाँका समस्याका बारेमा र काठमाडौंवासीलाई खानेपानी समस्याको हल गर्न प्रधानमन्त्रीसमक्ष मंगलबार ध्यानाकर्षण गराएका हुन्।
ध्यानाकर्षण पत्रमा आर्थिक वर्ष २०७९/०८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको भन्दै तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिन माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।