काठमाडौं– सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन्।
सोमबार मन्त्रीको कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले आश्वस्त पार्दै भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सि त हल गर्नैपर्छ। हामी विकल्प खोज्दै छौं। म पनि किसानको छोरा हुँ। सुकुम्बासीका समस्या बुझेको छु। तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु। तपाईंहरु पनि सरकारको कानुन मानेर अगाडि बढ्नुस्।’
सरकारले सुकुम्बासी बस्तीमा डोजर आतंक सुरु गरेको, सिङ्गो बस्ती नै त्रसित हुन पुगेको र बाध्य भएर सडक आन्दोलनमा आउनुपरेकाले गम्भीरतापूर्वक उचित निकास निकाल्न टोलीले मन्त्रीसमक्ष आग्रह गरेको थियो।
मन्त्री चौधरीले सानो परिवारका लागि अपार्टमेन्टको व्यवस्था, ठूला परिवारको लागि ठाँउको खोजी गरी घर बनाउन सुरु गर्ने बताए। व्यवस्था नहुन्जेलसम्मका लागि उनीहरुको घर भाडा सरकारले तिरिदिने पनि मन्त्री चौधरीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।