काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्।
सोमबार दिउँसो सत्ता गठबन्धनका दलहरुको बैठक बस्ने तयारी छ। गठबन्धनको बैठक अगाडि सोमबार बिहान कार्कीले प्रचण्डसँग भेट गरेका हुन्।
प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवानिकट नेता कार्कीले प्रचण्डसँगको भेटका क्रममा गरेको कुराकानीबारे भने केही खुलाइएको छैन।
पछिल्लो केहि समययता देउवानिकट नेताहरु प्रचण्डसँग लागातार छलफलमा छन्। यसअघि कांग्रेस उपसभापति पुर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतले प्रचण्डसँग भेटेर छलफल गरेका थिए।
माओवादीले सरकारको नेतृत्व दाबी गर्ने आकलन भइरहेका बेला कांग्रेसका नेताहरुको दहालसँग लागातार छलफल चलिरहेको छ।
सोमबार दिउँसो बस्न लागेको सत्ता गठबन्धनको बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।