काठमाडौं– वामपन्थी नेता घनश्याम भुसाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाललाई भेट्न भुसाल आइतबार नेपाल निवास कोटेश्वर पुगेका थिए।
मंसिर ४ को निर्वाचनको केही समयअघि एमाले परित्याग गरेका भुसालले प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही–१ बाट उम्मेदवारी दिएका थिए। उनलाई सत्ता गठबन्धनले समर्थन गरेपनि निर्वाचित हुन सकेनन्। उनलाई एमाले सचिव छबिलाल विश्वकर्माले पराजित गरे।
तत्कालीन नेकपा दुईधारमा बाँडिएका बेला प्रचण्ड–माधव समूहमा रहेका भुसाल सर्वोच्च अदालतले दुई पार्टीको एकता भंग गरिदिएपछि माधव नेपालसँगै एमालेभित्र समान्तर गतिविधिमा सहभागी थिए।
तर, नेपालले पार्टी विभाजन गर्दा भुसाल उनीतिर नलागेर १० बुँदे सहमति गर्दै एमालेमै बसे। गत वर्ष चितवनमा भएको एमालेको १०औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका भुसाल प्रतिनिधि सभा सदस्यका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि एमाले परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिने अवस्थामा पुगेका थिए।
वैचारिक नेताको छबि बनाएका भुसालले आफ्ना पुराना नेतालाई भेटेपछि त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कतिपयले उनी एकीकृत समाजवादीमा आवद्ध हुने आशंका गरेपनि भुसालले भने औपचारिक रूपमा केही बताएका छैनन्।
एकीकृत समाजवादीका प्रचार विभाग सदस्य विश्वमणि सुवेदीले भुसाल र नेपालबीचको भेटको फोटो सामाजिक सञ्जालमा राख्दै ‘आनन्ददायक चित्र’ भएको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।