काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारीको अपौचारिक बैठक सम्पन्न भएको छ।
आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको प्रष्ट पारेको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले बैठकमा निर्वाचन सम्बन्धी सबै पक्षबारे समीक्षा भएको बताए।
उनले गठबन्धनको विकल्पबारे पार्टीमा कुनै समीक्षा नगरेको दाबी गरेका छन्। उनले शनिबार पार्टी प्रवक्ता कृष्ण बहादुर महराले सरकार गठनका लागि गठबन्धनका विकल्प खुला रहेको प्रतिक्रियाको खण्डन गरेका छन्।
गुरुङले गठबन्धनको कतिपय क्षेत्रमा अपेक्षाकृत नभए पनि मुलभूत रुपमा उपलब्धिमूलक रहेको दाबी गर्दै सरकार गठनको विषयमा प्रवेश नगरेको स्पष्ट पारे।
‘गठबन्धनको विकल्पबारे कुरा सुरु भएकै छैन। अहिले गठबन्धन नै यथावत् भएकाले गठबन्धन भित्रबाटै पहिलो प्रयास स्वत: हुन्छ, उनले भने, ‘हिजो कुन प्रसंगमा कुरा आयो थाहा भएन। हिजो प्रवक्ता ज्यूले बोल्ने क्रममा पत्रकार साथीहरुसँगको अन्तरक्रियामा कसरी व्यक्त भयो त्यो सबै बुझ्न पाइएन। तर पनि सरकार गठनको बारेमा विकल्पका बारेमा कुराकानी भएकै छैन।’
गठबन्धनमा असहमति पैदा नभएको उनले प्रष्ट पारे। ।गठबन्धनको बैठक भोलि नै बस्नु पर्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।